महोत्तरी - मधेसमा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता तथा मायाको प्रतीकका रूपमा मनाइने सामा चकेवा पर्व आज राति विसर्जन सहित सम्पन्न गरिदैछ।

कात्तिक पञ्चमीका दिन सुरु भएको यो पर्व १० दिनसम्म मनाइने परम्परा छ।पर्वको पहिलो दिन दिदीबहिनीहरूले दाजुभाइबाट माटो खनेर ल्याई सामा चकेवा बनाउने, त्यसलाई रङगिचङ्गी रंग्याउने र रातो रङको बाँसको डालामा राखी गाउँका चोक, चौबाटो, विद्यालय, मन्दिर र छठघाटमा गीत र नाचसहित घुमाएर खेल्ने गरिन्छ।आज एघारौँ दिन दिदीबहिनीहरूले विगतका रातमा खेलिएका सामा चकेवाहरूलाई पुनः मर्मत गरी दही–चिउरा खुवाउने, दाजुभाइको हातबाट ‘फाँर’ भराइदिने र दाजुभाइबाट नै सामा चकेवा फुटाइने चलन छ।

त्यसपछि बाजागाजासहित सामा चकेवा विसर्जन गरिन्छ। तराई–मधेसका दिदीबहिनीहरू यस पर्वका लागि टाढाटाढाबाट माइतीघर फर्कने गर्छन्।भाइबहिनी नहुनेहरूले छिमेककै दाजुभाइ वा दिदीबहिनी सम्हाली यो पर्व मनाउने प्रचलन पनि छ। दाजुभाइको आयु दीर्घ होस् र सम्बन्ध अझ मजबुत होस् भन्ने विश्वाससहित मनाइने यो पर्व महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सा तथा छिमेकी भारतीय जिल्लाहरूमा समेत लोकप्रिय छ। “सामा चकेवा पर्वले परिवार, समाज र संस्कृतिलाई एकसाथ जोड्ने कार्य गर्छ।

यो खेल होइन, संस्कार हो,” औरही नगरपालिका–२ औरहीकी मंजु यादवले शिरीष न्युज महोत्तरी सम्बादातासँग भनिन्। उनीका अनुसार, विशेषगरी सन्तान र सम्बन्धबीचको स्नेह र समर्पणको सम्झना गराउने सामा चकेवा पर्व तराई–मधेसका चेलीबेटीहरूको मनमा विशेष स्थान राख्छ।
















