महोत्तरी- महोत्तरी जिल्लाको औरही नगरपालिका–२ स्थित रामजानकी कुटीको पछाडि रहेको पछियारी पोखरीमा आयोजना गरिने छठ पर्वको आर्थिक विवरण यस वर्ष पनि सार्वजनिक गरिएको छ। "पछियारी पोखरी छठ पूजा समिति" ले स्थापना पछिका तीन वर्षदेखि निरन्तर छठ पर्व भव्य रूपमा मनाउँदै आएको हो।
समितिका अध्यक्ष अभय यादवका अनुसार, यस वर्ष ७० जना श्रद्धालुहरू एवं स्थानीय समाजसेवीहरूबाट रु १,३३,७०० बराबरको चन्दा संकलन भएको छ। गत वर्षको बाँकी रु ६५,००० रकम जोडेर समितिको जम्मा कोष रु १,९८,७०० पुगेको थियो।
छठ पर्वको व्यवस्थापन तथा सञ्चालनमा भएको खर्च यसप्रकार छ:
- टेन्ट तथा पाण्डाल व्यवस्थापन: रु १,८०,०००
- घाट सरसफाइ: रु १०,०००
- ब्यानर छपाइ: रु ८,०००
- पोखरीमा चुना राख्ने कार्य: रु ५००
- अन्य खर्च: रु ५००
यसरी कुल रु १,९९,००० खर्च भई छठ पर्व सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष यादवले जानकारी दिए।
समाजसेवी नरेन्द्र यादवले छठ पूजा समितिको पारदर्शी र उत्तरदायी गतिविधिको प्रशंसा गर्दै यसलाई "स्थानीय सद्भाव र धार्मिक आस्थाको नमूना" भनेका छन्।
त्यसैगरी, सोही स्थानका अर्का समाजसेवी दरेश यादवले पनि समितिको कार्यशैलीप्रति समर्थन जनाउँदै भने, “धार्मिक पर्वमा पारदर्शिता र समुदायको सहभागिता महत्त्वपूर्ण हुन्छ। पछियारी पोखरी समितिले हरेक वर्ष जस्तै यसपटक पनि जनताको विश्वास जित्ने ढंगले कार्य गरेको छ। भविष्यमा पनि यस्तै उदाहरणिय काम हुने अपेक्षा छ।”
छठ पर्व मिथिलाञ्चलको सांस्कृतिक तथा आस्थाको पर्व भएकाले यसले समुदायमा एकता, श्रद्धा र सहयोगको बान्की थप दृष्टिगोचर बनाएको देखिन्छ। समितिले आगामी वर्षहरूमा अझ व्यवस्थित र जिम्मेवार ढंगले छठ पर्व मनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




