निजी अस्पतालहरुको संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले जनकपुरधाममा आन्दोलनरत स्वास्थ्यकर्मीहरुको आन्दोलनमा घुसपैठ भएको जनाएको छ । अफिनले बिहीबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै निजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको आन्दोलनमा घुसपैठ भएको दावी गरेको छ ।
स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गर्नका लागि छलफल गर्न तयार रहेको भन्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवाको संवेदनशीलतालाई ध्यानमा राख्दै पुनः आफ्नो कार्यस्थलमा फर्किन अफिनका अध्यक्ष एसके सिंहले आग्रह गरेका छन् । मधेश र जनकपुरधाम क्षेत्रका निजी अस्पतालहरू सर्वसुलभ शुल्कमा सञ्चालन भइरहेको दावी गर्दै सिंहले स्वास्थ्य संस्था संचालन गर्न स्वास्थ्यकर्मीहरूकै महत्वपूर्ण योगदानलाई नगरअन्दाज गर्न नसक्ने बताए । उनले स्वास्थ्यकर्मीहरूले उठाएका पारिश्रमिकसम्बन्धी मागप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको र उनीहरूले सम्मानजनक पारिश्रमिक पाउनुपर्ने अधिकारलाई वेवास्ता हुन नदिने बताए ।
अफिनले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०८२ साल कार्तिक १६ गते जारी गरेको विज्ञप्तिको बुँदा नं. ३ र ४ अनुसार प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकतामा गठित समितिले एक महिनाभित्र अस्पतालहरूको वर्गीकरण गरी पारिश्रमिकसम्बन्धी कार्य योजना तयार गर्ने निर्णय गरेको स्मरण गराउँदै सो निर्णयको कार्यान्वयन गर्न तयार रहेको जनाएको छ । विगत केही महिनादेखि निजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु श्रम शोषण गरेको आरोप लगाउँदै आन्दोलन गर्दै आईरहेका छन् ।




