जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । विश्वासको मत लिने दिन नेकपा (माओवादी केन्द्र) का दुई सांसदले विद्रोह गर्ने घोषणा गरेपछि सोनल सरकार अल्पमतमा पर्ने सम्भावना देखिएको हो ।
शनिबार माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहबर अन्सारी र माला कर्णले विश्वासको मतप्रति तटस्थ रहने घोषणा गरेका छन् । यससँगै मुख्यमन्त्री सोनललाई आवश्यक ५३ मत नपुग्ने अवस्था बनेको छ । जसपाका १८, जनमतका ११, माओवादीका ७, नेकपा (एकीकृत समाजवादी) का ७, लोसपाका ८ र नागरिक उन्मुक्तिका १ गरी ५२ मत मात्रै पुग्ने अनुमान गरिएको छ ।



मुख्यमन्त्री सोनल गत असोज २९ गते ५६ सांसदको समर्थनमा नियुक्त भएका थिए । तर तीमध्ये नव–मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साहले जनस्वराज रोज्दै आजको बैठकमा अनुपस्थित रहे । त्यस्तै, जसपाका सांसद सरोज सिंह कुशवाहा निलम्बनमा परेका छन् ।
मधेश प्रदेशसभामा हाल १०४ सदस्य छन् । चार जना सांसद आज अनुपस्थित छन् । मुख्यमन्त्री सोनलले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सबै सांसदलाई प्रदेशको स्थायित्व र विकासका लागि “एक ढिक्का भएर मत दिन” आग्रह गरेका थिए ।




