महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा नयाँ वडा कार्यालय भवन निर्माणको कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।



नगर प्रमुख डा. दिपेन्द्र महतोले शुक्रबार एक विशेष समारोहका बीच भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् । अढाई तल्ले संरचना बन्ने उक्त भवनको निर्माण कार्य जल्पा देवी निर्माण सेवा, त्रियुगा नगरपालिका–८, गाईघाट, उदयपुरले गर्ने भएको हो ।
भवन निर्माणका लागि कुल लागत रु. ७० लाख ७१ हजार २ सय १४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । सम्झौता मिति २०८२ साल भदौ २२ गते भएकोमा निर्माण कार्य २०८३ साल भदौ २२ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भवनको संरचनामा ग्राउन्ड फ्लोरमा ४ कोठा र १ शौचालय, पहिलो तलामा २ कोठा, १ हल र २ शौचालय तथा दोस्रो तलामा २ कोठा र १ शौचालय रहनेछ । माथिल्लो भागमा जस्ताको छाना राखिने योजना गरिएको छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख डा. महतोसँगै वडा नम्बर ९ का वडा अध्यक्ष बद्री प्रसाद सिंह, वडा नम्बर १२ का अध्यक्ष कुशेश्वर सिंह कुशवाहा, वडा सदस्य सन्तलाल महतो, अन्य वडा सदस्य, कर्मचारी, स्थानीय समाजसेवी, राजनीतिकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख डा. दिपेन्द्र महतोले नगरभित्रका सबै वडामा पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइएको बताए । उनले भने, “सशक्त र सेवामुखी स्थानीय सरकार बनाउनका लागि प्रत्येक वडामा सुन्दर र कार्यक्षम कार्यालय आवश्यक छ । यो भवनले वडा १२ का नागरिकलाई सहज र गुणस्तरीय सेवा पुर्याउनेछ ।”
उनले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै विकासका हरेक कार्यमा स्थानीयको सहकार्य र निगरानी महत्वपूर्ण हुने पनि बताए ।














