संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोज कुमार यादव (महोत्तरी) लाई नियुक्त गरिएको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भंडारीले बर्दिबास सिन्धुलीको सिमाना स्थित बर्दिबास ३ कालापानी पानस कटेजमा नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
संविधानको धारा १६८(३) बमोजिम संसद्को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा मा नियुक्त गरिएको छ।
मधेश प्रदेशको मुख्यमन्त्री यादवलाई पानस होटल बर्दिवासमा चयन गरि सपथ ग्रहण समेत गराइएको छ । होटलमै एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अंसारी र राप्रपाकी सांसद कंचन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ ।
प्रदेश प्रमुख भण्डारी बिरामीको बहानाले रातारात जनकपुरबाट काठमाण्डाैको लागि हिड्नु भएको थियो । उहाँ विरामी भएको थाहा पाएर मधेश भवनबाट बाहिरिदा कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले फुलको गुच्छा दिएर सोमवार विहानै ४ बजे बिदाइ गर्नुभएको थियो ।
यता प्रदेश प्रमुख भण्डारी बाटोमा बर्दिवासको कालापानी स्थित होटल पानस कटेजमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको नियुक्ती र शपथ समेत गराउनु भएको हो ।

शपथपछि मुख्यमन्त्री यादवले भन्नुभयो , ‘मैले मुख्यमन्त्री पदमा शपथ लिएको हुँ । जनकपुरधामको अवस्था असहज थियो । चारैतिर विरोध प्रदर्शन भइरहेको थियो । त्यसैले बाहिर शपथको कार्यक्रम राखिएको हो ।’
विश्वासको मत नपाउने भएपछि कार्तिक २२ गते मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाउनु भएको छ। तर, बिचबाटोमा नै उनले यादवलाई शपथ गराएको उहाँको भनाई छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ , ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेश को अस्मितालाई समाप्त पार्ने खेल गरिन्। एक त महिला अर्को स्वास्थ्य को कुरा गरिन्।’
प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए । एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेको थियो ।
यता उपचारको बहानामा भागेर कटेजमा कार्यालय स्थापना गरेर मुख्यमन्त्री नियुक्ति गरिएकोमा प्रदेश प्रमुख भण्डारीको आलोचना भइरहेको छ ।





