काठमाडाैँ – भारतको बिहार राज्यको विधानसभा निर्वाचनको मतगणना जारी छ । भारतीय निर्वाचन आयोगले बिहार विधानसभाका २४३ सिटमध्ये २०६ सिटको नतिजा सार्वजनिक गरेको छ ।
अब ३७ सिटको नतिजा आउन बाँकी रहेको आयोगले जनाएको छ । २०६ सिटको नतिजा आउँदा भारतीय जनता पार्टीले ८० सिटमा जितसहित राज्यको ठुलो दलका रूपमा आफूलाई स्थापित गरेको छ ।



भारतीय जनता पार्टीकै नेतृत्वमा रहेको ‘एनडीए’ गठबन्धनमा सामेल रहेको जनता दल युनाइटेडले ६८ सिटमा जित हासिल गरेको छ । एनडीए गठबन्धनकै अर्को दल लोक जनशक्ति पार्टीले १६ सिटमा जित हासिल गर्दा अर्को सहयोगी घटक हिन्दुस्तानी अवामी मोर्चाले ५ र राष्ट्रिय लोक मोर्चाले ३ सिट जितेको छ । एनडीए गठबन्धनले अहिलेसम्म १७२ सिटमा जित हासिल गरेको छ ।
नतिजा आउन बाँकी ३७ सिटमध्ये यो गठबन्धन घटकबाट भारतीय जनता पार्टीले ९, जनता दल युनाइटेडले १७, लोक जनशक्ति पार्टीले ३ र राष्ट्रिय लोक मोर्चाले १ सिटमा अग्रता बनाएका छन् ।
यस्तै, विपक्षी गठबन्धनका राष्ट्रिय जनता दलले अहिलेसम्म २० सिटमा जित हासिल गरेको छ भने ५ सिटमा अग्रता बनाएको छ । सोही गठबन्धनको घटक भारतीय राष्ट्रिय कांग्रेसले ६ सिटमा जित हासिल गरेको छ ।





