धनुषा – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, डिसिएको आर्थिक सयोग र कायापलटको समन्वयमा वातावरणीय अधिकार संरक्षण विषय सार्वजनिक बहस कार्यक्रम जनकपुरधाममा कात्तिक २९ गते सम्पन्न भएको छ ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले वातावरण प्रदुषण गर्ने कार्य मानिसबाटै हुने गरेकाले वातावरणीय संरक्षणमा जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने आजको आवश्यकता रहेको औँल्याउनु भयो । वायु प्रदुषण न्युनिकरणका लागि वृक्षा रोपण र स्वच्छ र सुन्दर जनकपुरधामका लागि प्रदुषण व्यवस्थापन आवश्यक रहेकोले यसमा पालिकाले गम्भीरताका साथ लिएर कार्य गरिरहेको बताउनु भयो । कार्यक्रममा उठेका सवालका सन्दर्भमा वातावरण विज्ञहरुसँग सम्वाद र छलफल गरी परिषदको बैठकमा प्रस्तावको रुपमा लगेर सम्बोधन गराउने प्रतिबद्धता उहाँले जनाउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले सरकारले वातावरणको अधिकार स्यम्ले सुनिश्चित गर्न नसकेको अवस्थामा गैरसरकारी संस्था र वातावरणीय विज्ञको सहयोग लिएर नागरिकको वातावरणीय अधिकारलाई संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो । वातावरणीय अधिकार नागरिकको मानव अधिकार भएको उल्लेख गर्नु हुँदै यो हाम्रो सझा सवालमा सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनु पर्ने उहाँले बताउनु भयो ।




इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई संविधान तह उल्लेख गरेको हुँदा उक्त हकलाई सरकारले प्रत्याभूत गर्नुपर्ने बताउनु भयो । मधेस प्रदेशमा चुरे दोहनका कारण प्रत्येक्ष रुपमा वातावरणीय अधिकारलाई प्रभाव पारिरहेको हुँदा यसतर्फ सरकारले गम्भीरताका साथ सोच्नु पर्ने बेला आएको उल्लेख गर्नु हुँदै छुट्टै ऐन र कानून बनाएर भएपनि नागरिकको वातावरणीय अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भयो ।

वातावरण विज्ञ अजित श्रीवास्तवले वातावरणीय प्रदुषण जनकपुरधाममा बढी रहेको उल्लेख गर्दै वृक्षा रोपण र सरफाइ जनकपुरधामले प्राथमिकतामा राखेर गर्नु पर्नेमा जोड दिनु भयो । अध्ययन अनुसन्धान गरेर फोहोर व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सकिए राम्रो र सुन्दर पालिका हुने उल्लेख गर्नु हुँदै जरिवानाको व्यवस्था नगरेसम्म जनकपुरधाममा फोहर व्यवस्थापन हुन नसक्ने उहाँको भनाई थियो ।

वन तथा वातावरण मन्त्रालयका वातावरण तथा जलवायु अनुकुल शाखा प्रमुख राम युगल साहले वातावरणीय क्षेत्रमा मन्त्रालयले अध्ययन र अनुसन्धानको कार्यलाई अगाडि बढाइरहेको उल्लेख गर्नु हुँदै आफू मन्त्रालयमा रहँदासम्म अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मीसँग समन्वय गरेर वातावरणको क्षेत्रमा योगदान दिने प्रतिबद्धता जनाउनु भयो ।
होटल, अस्पताल तथा उद्योग कलकारखानाबाट निकालिने विकार तथा प्रदुषण पदार्थ तथा वस्तुहरुलाई व्यवस्थित गराउने कार्यमा मन्त्रालयबाट प्रत्राचारको कार्य भइरहेको उहाँले बताउनु भयो ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका महिला अधिकृत दिपिका कर्णले पानी, दाउरा र घाँस ल्याउने लगायतका प्राकृति श्रोतहरुमा महिला बढी नजिक रहेर कार्य गरिरहेको हुँदा प्रत्येक्ष रुपमा महिला वातावरणीय प्रभावमा पर्ने गरेको बताउनु भयो । वातावरणसँग सम्बन्धित सरकारको नीति तथा कार्यक्रमहरु पनि महिला मैत्री हुनु पर्ने र सोका लागि मन्त्रालय लागि रहेको उहाँले उल्लेख गर्नु भयो।

अर्थ किलिन ग्रिनका संस्थापक दिपु ठाकुरले सरसफाई तथा फोहोर व्यवस्थापन ऐन र कार्यविधि समेत जनकपुरधाम उपमहानगरपालिकाले पारित गरिसकेको तर, कार्यान्वयन हुन नसकेको गुनासो गर्नु भयो । पालिकाले एक ठाउँबाट फोहोर उठाएर अर्को ठाउँमा फोहोर फालेकोले ती फोहोर प्रशोधन र डम्पिंग साइडहरुको व्यवस्थापन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

दलित महिला संघ धनुषाका परियोजना संयोजक सिजेन्द्र सदा, पिपुल प्रोमोट सेन्टरका अध्यक्ष कमलेश कुमार मण्डल, जवास नेपालकी मन्दाकुमारी कर्ण, ग्रिन स्पेश नेपालका अध्यक्ष धरिज साह, जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. ८ की वडा सदस्य मुनी दास र वडा १० की वडा सदस्य नितु मलिक लगायतले फोहोर व्यवस्थापन, साउण्ड पोलुशन, वायु प्रदुषण र चुरे संरक्षणमा प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्न सुझाव दिनु भएको थियो । कार्यक्रमको संचालन कायापलटका संस्थापक अध्यक्ष दिवाकर उप्रेतिले गर्नु भएको थियो ।






