महोत्तरी - औरहीमा सडक दुर्घटना न्युनिकरणको लागि सवारी सम्बन्धी जनचेतनामूलक होर्डिङ बोर्ड औरही नगरपालिकामा सडक दुर्घटना न्युनिकरणको लागि दुई स्थानमा सवारी सम्बन्धी जनचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ।
महोत्तरी जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्णको प्रमुख आतिथ्यतामा बिहिवार सवारी सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गरी औरही नगरपालिका–१, औरही बजारका दुई स्थानमा उक्त होर्डिङ बोर्ड स्थापना गरिएको हो।

महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास अन्तर्गतको ट्राफिक प्रहरी चौकी औरहीले बढ्दो सडक दुर्घटना न्युनिकरणका उद्देश्यले सो सामग्री जडान गरेको हो।

महोत्तरी जिल्ला समन्वय समितिका प्रमुख कर्णले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै दुर्घटना कमीका लागि प्रहरी, स्थानीय तह, समुदाय तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए।“महोत्तरीलाई सुरक्षित यातायातको नमुना जिल्ला बनाउन निरन्तर सहयोग र समन्वयमा रहनेछौँ,” प्रमुख कर्णले भने।

वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेटको सहयोगमा जडान गरिएका होर्डिङ बोर्डमार्फत मोटरसाइकल चलाउँदा अनिवार्य हेल्मेट प्रयोग, तीव्रगति जीवनका लागि जोखिम, नियम विपरीत सवारीसाधन नचलाउने सन्देशहरू प्रवाह गरिने ट्राफिक प्रहरी औरहीका प्रमुख प्रहरी सहायक निरीक्षक जयनारायण महतोले जानकारी दिए।

कार्यक्रममा सहभागी स्थानीय रञ्जित यादवले बजार क्षेत्रमा पछिल्लो समय बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै जडान गरिएको होर्डिङ बोर्ड अत्यन्त उपयोगी रहेको उल्लेख गरे। “यस्ता चेतनामूलक सन्देशहरूले चालक मात्र होइन, पैदल यात्रूसमेत सचेत बन्न सहयोग गर्छ,” यादवले भने। सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक क्षेत्रमा लगानी गर्दै जनचेतनामूलक कार्यक्रम अघि बढाइरहेको वर्ल्डलिंक कम्युनिकेसन्स इन्टरनेट शाखा कार्यालय बर्दिवासका प्रतिनिधिहरूले बताए।

कार्यक्रममा ट्राफिक प्रहरी चौकी औरहीका प्रमुख प्रहरी सहायक निरीक्षक चक्रे राना मगर,स्थानीय,व्यापारी,बिधार्थी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।











