सुजाता राई
काठमाडौं । लेखक प्रेममान डंगोलको सांस्कृतिक कृति ‘चित्रमय चाडपर्वको देश : नेपाल’ राजधानीमा आयोजित समारोहमा लोकार्पण गरिएको छ।
कार्यक्रममा डा. पुरुषोत्तम लोचन श्रेष्ठ, ओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, शितल गिरीलगायत स्रष्टाको उपस्थिति थियो। वक्ताहरूले पुस्तकले नेपाल मण्डलको संस्कृति, चाडपर्व र भाषागत पहिचान बुझ्न महत्वपूर्ण योगदान गर्ने धारणा राखे।
डा. श्रेष्ठले पुस्तकमा समेटिएका नवीन सांस्कृतिक तथ्यहरूले नेपाली समाजलाई आफ्नो मूल पहिचान बुझ्न मद्दत गर्ने बताए।
त्यसैगरी शितल गिरीले कृतिले भाषा, संस्कृति र परम्परागत पर्वहरूको गहिरो परिचय दिन सक्षम रहेको उल्लेख गरे।
कार्यक्रमका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’का अनुसार पुस्तकले सांस्कृतिक परम्परा संरक्षित गर्न सकारात्मक भूमिका खेल्नेछ।
नेपाल स्रष्टा समाज, केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न कार्यक्रममा लेखक डंगोलले आफ्नो लेखकीय मन्तव्य प्रस्तुत गरे।
कार्यक्रमको सञ्चालन रञ्जना निरौला र स्वागत तारा सुवेदीले गरेका थिए।




