महोत्तरी - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध परेको रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा आज भएको सुनुवाइमा दुबै पक्षको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
मधेश प्रदेश सभाका सात दलले मुख्यमन्त्री यादवको नियुक्ति अवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। दायर रिटमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम भएको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको उल्लेख गरिएको छ।
यसअघि, मंसिर ३ गते सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाई आवश्यक कागजात झिकाएर मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने आदेश दिएको थियो। तर आज सुनुवाइ पूरा नहुँदा मुद्दा भोलि पनि जारी रहने सर्वोच्चले जनाएको छ।
सर्वोच्च अदालतले मुद्दा टुंगो नलागेसम्म मधेश प्रदेश सरकारले कुनै नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेशसमेत जारी गरिसकेको छ।
यादवको नियुक्ति प्रक्रियापछि आन्दोलनमा उत्रिएका सात दलको समर्थनमा मधेश प्रदेश सभाले सभामुख रामचन्द्र मण्डललाई दुई तिहाइ बहुमतले पदमुक्त गरेको थियो। त्यस्तै, मुख्यमन्त्री नियुक्तिमा संलग्न रहेको आरोप लागेकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरिसकेका छन्।




