सिरहा - सिरहामा गैरदलित युवतीसँग प्रेम विवाह गरेका युवकलाई प्रहरीले थुनामा राखेको पाइएको छ । सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृतकुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले शुक्रबार रातिदेखि थुनामा राखेको हो ।
अमृतलाई हिजो राति ११ बजे नै सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विवाह मण्डपबाटै इलाका प्रहरी कार्यालय, बन्दिपुरको टोलीले इलाका प्रहरी कार्यालय, गोलबजार पुर्याएको थियो ।
त्यहाँ हिरासतमा राखिएका उनलाई स्थानीय अगुवाहरूको पहलपछि शनिबार साँझ मात्रै आफन्तको जिम्मा लगाइएको हो। अमृतसँगै उनकी पत्नी धनगढीमाई नगरपालिका-२ की २० वर्षीया कोसिकाकुमारी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । रातभर गोलबजारस्थित सेफ हाउसमा राखिएकी उनलाई पनि अमृतकै परिवारलाई जिम्मा लगाइएको छ ।
विगत एक वर्षदेखि प्रेममा रहेका उनीहरूलाई शुक्रबार विवाहका लागि आफन्त र गाउँलेले जनकपुरस्थित जानकी मन्दिर लगेका थिए । तर, त्यहाँ विवाह सकिन लागेका बेला युवतीका बुबा फुलगेन साहसहित १५-२० जनाको समूह पुगेर विवाद गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय, धनुषामा लगेको थियो ।




