काठमाडौं । जारी नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनमा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
यससँगै प्लेअफको दौड रोचक हुने भएको छ । हालसम्म प्लेअफमा पुग्ने एक टिमको मात्र टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको छ । जनकपुरको जितपछि प्लेअफका बाँकी ३ स्थानका लागि अझै पनि ७ वटै टिम प्रतिस्पर्धामा देखिएका छन् ।
छ खेलमा ४ जित र २ हार व्यहोरेको काठमान्डु गोर्खाज र पाँच खेलमा चार जित निकालेको विराटनगर किङ्स प्लेअफमा पुग्ने उच्च सम्भावना रहेको छ ।
मंगलबारको खेलमा चितवनले दिएको १७७ रनको प्रतिस्पर्धात्मक लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
जनकपुरका लागि ओपनर माज सदाकतले उत्कृष्ट प्रदर्शन गरे । उनले बलमा ३० बलमा ६ चौका र ४ छक्कासहित ६७ रनको अर्धशतकीय पारी खेले । उनलाई गतिलो साथ दिएका कप्तान अनिल साहले पनि अर्धशतक बनाए । साहले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन जोडे । जारी सिजनमा उनको यो पहिलो अर्धशतक हो ।
ओपनर आसिफ शेख भने १८ रनमै आउट हुँदा जान निकोल लोफ्टी-इटनले ११ रन बनाए ।
चितवनका लागि सोहेल तनवीर, कमल ऐरी र अमर रौटेलाले एक-एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । चितवनका लागि डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।
चितवनका लागि मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ८० रन जोडे । अर्जुनले भने ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए ।
कुशल मल्ल भने १४ बलमा ३० रन बनाउदै अविजित रहे । जनकपुरका लागि सादकत, अनिल साह, रुपेश सिंह, जान लफ्टी इटनले १–१ विकेट लिए ।




