नेकपा (एमाले)ले मधेश प्रदेशमा अब जसको सरकार बने पनि विश्वासको मत दिने भएको छ । मधेशमा एक्लिँदै गएपछि एमालेले अब बन्ने सरकारलाई विश्वासको मत दिने तयारी गरेको हो ।
कामचलाउ मुख्यमन्त्रीसमेत रहेका एमाले मधेश प्रदेश सभा संसदीय दलको नेता तथा सरोजकुमार यादवले सरकारलाई स्थिरता प्रदान गर्न जो आए पनि विश्वासको मत दिने बताए । अब बन्ने सरकारलाई विश्वासको मत दिएर सरकार बाहिर बस्ने एमालेको रणनीति रहेको उनको भनाइ छ । ‘अहिले ७ दलीय गठबन्धनको सरकार बन्ने कुरा आइरहेको छ,’ मुख्यमन्त्री यादवले भने, ‘एक महिनामा तीन वटा सरकार बनेर सरकार अस्थिर भएको हुनाले अब जसको नेतृत्वमा सरकार बने पनि एमालेलेस्थिरता प्रदान गर्न तथा संघीयतालाई जोगाउन पनि विश्वासको मत दिन्छ ।’
सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत लिने कार्यसूची तय भएको अवस्थामा मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभामा राजीनामा घोषणा गरेका थिए ।
त्यसपछि प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्र लाभ कर्णले उनको राजीनामा स्वीकृत गर्दै १६८(२) बमोजिम सरकार गठनको शुक्रबार साँझ ५ बजेसम्मको लागि दाबी पेश गर्न समय दिएका छन् ।
लोसपाबाट पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल र नेपाली कांग्रेसबाट संसदीय दलको नेता कृष्णप्रसाद यादव मध्ये कुनै एक जनाको दाबी पेश हुने सम्भावना छ ।




