जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा आइसिटी (ICT) ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना र डिजिटल लाइब्रेरी सुदृढीकरणका लागि विनियोजित बजेटमा अनियमितता गरिएको पाइएको छ ।
तोकिएको उद्देश्यअनुसार काम नगरी वा अपुरो काम देखाएर रकम हिनामिना गरिएको आरोप अख्तियारको छ ।
उक्त प्रकरणमा प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरुणकुमार कुशियैत विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
अख्तियारले दुवै जनाविरुद्ध जनही ८ लाख ६२ हजार १५२ रुपैयाँ बिगो कायम गरी सोहीअनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा अभियोग पत्र दायर गरेको जनाएको छ ।
शैक्षिक पूर्वाधार सुधारका नाममा आएको सरकारी रकम दुरुपयोग भएको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा चासो र आलोचना बढेको छ ।
विशेष अदालतमा मुद्दा दर्ता भएसँगै अब न्यायिक प्रक्रियाबाट यस प्रकरणको टुंगो लाग्ने अख्तियारले जनाएको छ ।




