सन्तानको रहर पूरा भएकाहरूका लागि महोत्तरीमा पुस ४ गतेदेखि स्थायी तथा अस्थायी बन्ध्याकरण गर्न एकीकृत परिवार योजना शिविर सञ्चालन हुन लागेको छ । शिविरपूर्व राखिएको अन्तर्क्रिया कार्यक्रममा शिविर सञ्चालनकाे तयारी पूरा भएको जानकारी गराइएको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यता र स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलशोर साहको अध्यक्षतामा भएको सो अन्तर्क्रिया कार्यक्रममा शिविर सञ्चालनसम्बन्धी विविध विषयवस्तुमा चर्चा गरिएको थियो ।
गत वर्ष सात सयको लक्ष्यमा ५३४ को बन्ध्याकरण गरिएकोमा यस वर्ष ८७४ लक्ष्य रहेको र लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय प्रमुख साहले बताए । उनले १५ स्थानीय तह रहेको महोत्तरीमा १० स्थानमा शिविर सञ्चालन गरेर सेवा उपलब्ध गराइने बताए । शिविर श्री सुनौलो परिवार नेपालको प्राविधिक सहयोग, स्थानीय तहहरूको समन्वय तथा स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनमा सञ्चालन हुनेछ ।
यस्तो छ शिविर सञ्चालन हुने सूची
पुस ४ गते महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला अस्पतालबाट सुरु हुने शिविर पुस ५ गतेसमेत सोी अस्पतालमा सेवा उपलब्ध गराइनेछ भने पुस ७ र ८ गते बर्दीबास नगरपालिकाका सेवाग्राहीका लागि बर्दीबास अस्पतालमा शिविर सञ्चालन हुनेछ । यता पुस १० र ११ गते औरही अस्पतालमा शिविर आयोजन हुनेछ । त्यस्तै, पुस १३ र १४ गते मनरासिस्वा नगरपालिका तथा एकडारा गाउँपालिकाका सेवाग्राहीका लागि एकडारा स्वास्थ्य चौकीमा शिविर आयोजन हुनेछ ।
त्यस्तै, बलवा नगरपालिका र लोहारपट्टी नगरपालिकाका सेवाग्राहीलाई बन्ध्याकरणको सेवा उपलब्ध गराउन पुस १६ र १७ गते बल्वा–धमौरा स्वास्थ्य चौकी, रौजामा शिविर सञ्चालन हुने पब्लिक हेल्थ नर्स तथा स्रोतव्यक्ति सिर्जना यादवले बताइन्। उनले पुस १९ र २० गते रामगोपालपुरमा शिविर सञ्चालन हुने बताइन् ।
यता सम्सी गाउँपालिकामा पुस २२ गते, सोनमा गाउँपालिकामा पुस २४ र २५ गते तथा पिपरा गाउँपालिकामा पुस २७ र २८ गते शिविर सञ्चालन हुनेछ । त्यस्तै, मटिहानीमा पुस ३० गते र भंगहा नगरपालिकामा माघ २ र ३ गते शिविर आयोजन हुनेछ ।
शिविरमा मिनील्याप, भ्यासेक्टोमी साथै आइयुसिडी इम्प्लान्टको सेवासमेत निःशुल्क उपलब्ध गराइने स्रोतव्यक्ति यादवले बताइन् । जनसंख्या सन्तुलन राख्न बन्ध्याकरण भरपर्दो माध्यम भएको र यो सुरक्षितसमेत भएकाले पछिल्लो समय बन्ध्याकरण गराउनेहरूको संख्या बढ्दो छ ।




