महोत्तरी - बैंकिङ कसुर मुद्दामा फरार रहेका जनकपुर उपमहानगरपालिका निवासी सन्तोष कुमार साह पक्राउ परेका छन्।
झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका ३० वर्षीय साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौं महानगरपालिका–४ चण्डोलबाट पक्राउ गरेको हो।
कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका साहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
सुमित कुमार खेतानको जाहेरीका आधारमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा एसएन सप्लायर्सका प्रोप्राइटर सन्तोष कुमार साहविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
प्रहरीका अनुसार साह जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बैंकिङ कसुर मुद्दामा एक करोड बाउन्न लाख रुपैयाँको बिगोमा फरार रहेका थिए। त्यसैगरी, इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीबाट बीस लाख रुपैयाँ, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आठ लाख रुपैयाँ तथा जिल्ला प्रहरी कार्यालय झापाबाट तीस लाख रुपैयाँको बिगोमा पनि उनी फरार रहेका थिए।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।




