महोत्तरी - महोत्तरीसहित तराईका जिल्लामा पछिल्ला केही हप्तादेखि लगातार चिसो मौसम र बिहान–साँझ बाक्लो कुहिरोले जनजीवन प्रभावित बनेको छ। किसान, बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारीमा निर्भर परिवार विशेषगरी प्रभावित भएका छन्।
स्थानीयवासीले बताएअनुसार केही दिनअघि घाम लाग्दा जाडोबाट राहत महसुस भए पनि फेरि कुहिरो र चिसो बढेपछि दैनिक कामकाज प्रभावित भएको छ। औरही–२ का किसान दिनेश यादवले भन्नुभयो, “घाम नलाग्दा तरकारी र गहुँबालीमा असर पर्न थालेको छ। बालीमा रोग लाग्ने र उत्पादन घट्ने चिन्ता बढेको छ।गौशाला–१० का किसान मनिकलाल महतोले अत्यधिक कुहिरोका कारण बिहान खेतमा जान ढिलाइ हुने र सिँचाइ तथा मलखादको काम प्रभावित भएको जानकारी दिनुभयो।
चिसोले माछापालन व्यवसायमा पनि असर पारेको छ। औरही–२ का घनश्याम यादवले बताए,पानी चिसिँदा माछाले दाना कम खाने र वृद्धि सुस्त हुन्छ। घाम नलागे माछा मर्ने जोखिम बढ्छ।
स्वास्थ्य क्षेत्रमा पनि समस्या बढेको छ। औरही–१ का स्वास्थ्य चौकीका डाक्टर रामचन्द्र यादवका अनुसार रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढेको छ। बालबालिका र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।
व्यापार–व्यवसायमा पनि असर देखिएको छ। उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीले भने, “चिसो र कुहिरोका कारण बिहान बजार ढिला खुल्छ, ग्राहक कम आउँदा कारोबार प्रभावित भएको छ।” चिया पसल सञ्चालक किशोरी साहले पनि ग्राहक घट्दा आम्दानीमा कमी आएको बताइन्।
साना किसान र व्यवसायीले ऋणको किस्ता तिर्न कठिनाइ भोग्न थालेको सहकारीका सचिव रामनारायण साहले जानकारी दिनुभयो।
यसैबीच, महोत्तरीको औरही नगरपालिकाले बढ्दो चिसोलाई ध्यानमा राख्दै शीतलहर प्रभावित नागरिकलाई राहत स्वरूप दाउरा वितरण गरेको छ। नगरपालिकाले विशेष गरी विपन्न तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्गलाई लक्षित गरेको छ।
नगरप्रमुख प्रदिप कुमार खड्काका अनुसार,तराई–मधेसमा जाडो याममा शीतलहर गरिब वर्गका लागि विपद् जस्तै हुन्छ। नगरपालिकाले दाउरा वितरण सुरु गरेको मुख्य उद्देश्य चिसोबाट सबैभन्दा बढी प्रभावित नागरिकलाई राहत दिनु हो।वडा नम्बर १ देखि ९ सम्मका टोलहरूलाई प्राथमिकतामा राखी आगो बाल्दा लामो समय टिक्ने रुखका जरा वितरण गरिएको छ। चिसोले बजार क्षेत्रका व्यवसायी र यात्रुलाई पनि प्रभावित गरेकाले बजारमा समेत वितरण गरिएको छ।
स्थानीय रामबाबु चौधरीले भने,दैनिक ज्यालादारी गर्ने हामीजस्ता परिवारका लागि चिसो मौसम निकै कठिन हुन्छ। नगरपालिकाले समयमै दाउरा उपलब्ध गराएकोले राहत महसुस भएको छ।
नगरप्रमुख खड्काले भनेका छन् कि चिसो समयभरि नै यस प्रकारको राहत कार्यक्रमलाई निरन्तरता दिइनेछ।
मौसमविद्हरूका अनुसार तराई क्षेत्रमा चिसो हावासँगै कुहिरो केही दिन अझै जारी रहन सक्ने अनुमान छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार चेतावनी जारी गर्दै तराई भूभागमा हुस्सु–कुहिरोको क्रम जारी रहने र उच्च भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।
यसले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा असर पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।




