जनकपुरधाम। सिरहाको कर्जन्हा नगरपालिकामा १७ वर्षीया किशोरी अबिना बैधको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा धनुषाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानले प्रेम प्रस्ताव, आपसी शंका र ईर्ष्याले घटनाले भयावह मोड लिएको खुलेको छ ।
गत नंसिर २२ गते दिउँसो करिब २ बजेर ४५ मिनेटको समयमा कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिँचाइ नहरबाट करिब १५–२० मिटर तल झाडीभित्र एक किशोरी मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक अनन्त राम शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो । साथै मधेश प्रदेश प्रहरी कार्यालयबाट डग स्निफिङ टोलीसमेत मगाई घटनाका विभिन्न पाटोको सूक्ष्म अध्ययन गरिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो ।
पोष्टमार्टम तथा प्रारम्भिक अनुसन्धानपछि मृतक कर्जन्हा नगरपालिका–१ बाल्टिया निवासी स्वर्गीय सूर्यदेव बैधकी १७ वर्षीया छोरी अबिना बैध रहेको पुष्टि भएको थियो । किशोरीको शव अत्यन्तै विभत्स अवस्थामा फेला परेपछि घटनाले स्थानीयस्तरमै सनसनी मच्चाएको थियो ।
घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान तीव्र बनाएको थियो । सोही क्रममा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–३ निवासी करिब ४५ वर्षीय राम बालक चौधरी शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरी अनुसन्धान अनुसार गत मंसिर २१ गते राति पोर्ताहा क्षेत्रस्थित एक होटलमा मदिरा सेवन गरिरहेका चौधरी र मृतक किशोरीबीच पटक पटक मोबाइल फोन सम्पर्क भएको खुलेको छ । सोही राति करिब ८ः३० बजे दुबैबीच कुराकानी भई चौधरीले भेट्न बोलाएपछि अबिना बैध राति करिब ९ः१५ बजे उनको डेरा कोठामा पुगेकी थिइन् ।
त्यसपछि, दुबै जना कमला नदी किनार हुँदै विद्यालय अगाडि रहेको पोखरी नजिकको सुनसान स्थानमा पुगेका थिए । अनुसन्धानका क्रममा दुबैबीच सहमतिमै शारीरिक सम्बन्ध भएको खुलेको प्रहरीको दाबी छ ।
तर, विवाहको प्रस्ताव, आपसी अविश्वास र ईर्ष्याका कारण उनीहरूबीच पहिलेदेखि नै विवाद हुँदै आएको र सोही विवादले घटनाको रात भयावह रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवादका क्रममा आवेगमा आएर राम बालक चौधरीले किशोरीको घाँटी थिचेर हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीका अनुसार घाँटी थिचेपछि ढुंगाले अनुहारमा प्रहार गर्दा किशोरी बेहोस भएकी थिइन् । त्यसपछि उनलाई नजिकैको झाडीमा तानेर लगी ढुंगाले अनुहार किची ज्यान लिएको र शव त्यहीँ छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न रहेको अभियोगमा राम बालक चौधरीलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी अन्य पाटो तथा सम्भावित थप संलग्नता भए/नभएको विषयमा पनि अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।
यस घटनाले किशोरी सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयवासीले दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन् ।




