महोत्तरी — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा म्यादी प्रहरीमा आवेदन दिन इच्छुक युवाहरूको भीड बिहीबार बिहानैदेखि सघन देखिएको छ।

आसन्न निर्वाचनका लागि जिल्लामा तीन हजार ९१२ जनालाई निर्वाचन प्रहरीमा भर्ना गर्न लागिएको निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समितिले जनाएको छ। समितिको आज जारी एकीकृत सूचना अनुसार सो सङ्ख्यामा प्रहरी भर्ना हुने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टका अनुसार, म्यादी प्रहरीको आवेदन फाराम भर्ने प्रक्रिया पुस २५ गतेदेखि माघ १ गतेसम्म खुला रहनेछ। तोकिएको म्यादभित्र योग्यता पुगेका इच्छुकहरूले आवेदन दिन सक्नेछन्।

आवेदन दर्ताका क्रममा भीड व्यवस्थापन र शान्ति–सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ। विशेषगरी युवाहरूको म्यादी प्रहरी भर्नाप्रति उत्साह उल्लेखनीय देखिएको छ।



