महोत्तरी - तराई–मधेस प्रदेशका विद्यालय तथा विद्यार्थीहरूले अनिवार्य रूपमा मनाउने सरस्वती पूजा नजिकिँदै छ। यस वर्ष माघ ९ गते पर्ने पर्वसम्म आजबाट मात्र १२ दिन बाँकी रहेका बेला, यहाँका मूर्तिकारहरू सरस्वती माताको प्रतिमा निर्माणमा व्यस्त देखिएका छन्। वसन्त पञ्चमीको अवसरमा विशेष रूपमा मनाइने यस पर्वलाई लक्षित गर्दै मधेसका विभिन्न स्थानमा मूर्ति निर्माणको काम तीव्र पारिएको छ।

महोत्तरीको औरही नगरपालिका–२ फुलवरियाका ६५ वर्षीय मूर्तिकार दिनेश राम र सोहि ठाउँ बस्ने ४५ वर्षीय कैलाश राम विगत छ दशकदेखि यस पेशामा आबद्ध हुनुहुन्छ। उहाँका अनुसार मूर्ति बनाउन आवश्यक पर्ने माटो सहज रूपमा नपाइने र महँगो मूल्यमा मात्र उपलब्ध हुने समस्याका कारण पेशा संकटमा परेको छ। यस वर्ष पुसको सुरु महिना देखिनै लामो समयसम्म घाम नलाग्नु र बढ्दो शीतलहरले मूर्ति सुकाउन कठिन भएको उहाँले बताउनुभयो।किशोरावस्थादेखि बुवासँग मूर्ति बनाउन सिकेका रामका परिवारका सबै सदस्य यही पेशामा आबद्ध छन्।

मूर्तिकार कैलास रामका अनुसार सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा तथा कृष्णाष्टमीका अवसरमा मूर्तिको माग बढी हुने गर्दछ। घाम राम्रो रहेको वर्षमा पर्व तथा महोत्सवका लागि सयौँ मूर्तिको अर्डर आउँछ र लागत कटाएर राम्रो आम्दानी हुने गर्दछ। तर, यस वर्ष बिक्रीका लागि तयार पारिएका मूर्तिसमेत बिक्री गर्न कठिन भइरहेको उहाँले जानकारी दिनुभयो।माटो, काठ तथा पराल प्रयोग गरेर बनाइने मूर्तिहरू सातदेखि दश दिनसम्म सुक्नुपर्ने हुँदा पर्वसम्म बिक्रीयोग्य बनाउन समयको कमी भइरहेको छ।

मूर्तिको आकार र बनावटअनुसार न्यूनतम दुई हजार पाँच सयदेखि अधिकतम १५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको मूर्तिकारहरूले जनाएका छन्।स्थानीयवासीहरूले परम्परागत मूर्तिकला पेशा संरक्षण, प्रवर्द्धन र बजार व्यवस्थापनमा सरकारको ध्यान आवश्यक रहेको बताएका छन्।

समय, परिस्थिति र नयाँ पुस्ताको घट्दो रुचिका कारण परम्परागत मूर्तिकला लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय तहले विशेष पहल गर्नुपर्ने चेतावनी उनीहरूले दिएका छन्।




