महोत्तरी - महोत्तरी जिल्लाको गौशाला नगरपालिका ५ गौशालामा लाग्ने गरेको गौशाला बजार यस जिल्लाको मुख्य ब्यपारी केन्द्रको रूपमा क्षेत्रमा बढ्दो अतिक्रमण,अव्यवस्थित पार्किङ तथा जथाभावी पसल विस्तारका कारण बजारको अवस्था दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ।
मुख्य सडक तथा भित्री बजार मार्ग साँघुरो बन्दा सवारी साधनको आवत–जावतमा कठिनाइ भएको छ भने सर्वसाधारण, उपभोक्ता र आपतकालीन सेवासमेत प्रभावित भएका छन्।

बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरी तरकारी,फलफूल, कपडा,माला,कस्मेटिकलगायतका सामग्री सडकसम्म राखी बिक्री वितरण गरिँदा पैदल यात्रुहरू सडक प्रयोग गर्न बाध्य भएका छन्। यसले दुर्घटनाको जोखिम बढाएको स्थानीयवासीहरूको गुनासो छ।
विशेषगरी बजारको दिन तथा चाडपर्वजस्ता व्यस्त समयमा साना तथा ठूला सवारी साधन एकैचोटि जाममा फस्दा लामो समयसम्म यातायात अवरुद्ध हुने गरेको छ। अव्यवस्थित पार्किङका कारण सडकको दायाँबायाँ मोटरसाइकल, अटो र चारपांग्रे सवारी साधन जथाभावी रोकिँदा बजार क्षेत्र झनै साँघुरो बनेको छ।

गौशाला बजारका व्यापारी सन्तोष साहले बजारको अव्यवस्थाले व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए। उनका अनुसार पार्किङ अभाव र फुटपाथ अतिक्रमणका कारण ग्राहकको आवागमन प्रभावित भएको छ।
यसैगरी किनमेलका लागि गौशाला बजार आएका सकिन्द्र चौधरीले सुरक्षित हिँडडुल गर्न कठिन भएको गुनासो गरे। फुटपाथमा पसल विस्तार हुँदा सवारी साधनको जोखिम मोलेर सडकबाटै हिँड्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

ट्राफिक प्रहरीका अनुसार बजार क्षेत्रमा सवारी चाप अत्यधिक बढेको र अतिक्रमणकै कारण ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ। फुटपाथ तथा सडक अतिक्रमण नियन्त्रण नगरिएसम्म समस्या समाधान हुन नसक्ने ट्राफिक प्रहरीको भनाइ छ।
यसबारे गौशाला नगरपालिकाका एक अधिकारीले बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए। उनका अनुसार ट्राफिक प्रहरी तथा सरोकारवालासँग समन्वय गरी चरणबद्ध रूपमा अतिक्रमण हटाउने, निश्चित पार्किङ क्षेत्र तोक्ने र नियमित अनुगमन गर्ने योजना बनाइएको छ।
सम्बन्धित निकायले समयमै प्रभावकारी कदम नचाले बजारको अव्यवस्था अझ बढ्ने र जनजीवन थप प्रभावित हुने स्थानीयवासीहरूको चिन्ता रहेको छ।




