सुजाता राई
विराटनगर । मैथिल ब्राह्मण समाज मोरङ तथा स्वर संगम संगीतालय विराटनगरको संयुक्त आयोजनामा “विद्यापति स्मृति पर्व” भव्य रूपमा शनिबार सम्पन्न भएको छ।
आयोजक संस्थाद्वयका अध्यक्ष मनोज मिश्र र कुशेश्वर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी तथा वरिष्ठ साहित्यकार आयोध्यानाथ चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा नेपाली साहित्यतर्फ मधु पोखरेल र मैथिली साहित्यतर्फ आयोध्यानाथ चौधरीलाई सम्मान गरिएको थियो।




आदिकवि विद्यापतिद्वारा रचित गोसाउनी गीतबाट सुरु भएको कार्यक्रममा प्रदीप दास र कवि शिवनारायण सिंगलले विद्यापति तथा मौलिक काव्य गायन प्रस्तुत गरे। त्यसैगरी मैथिल ब्राह्मण समाजका सल्लाहकार भगवान झा र मीरा झाबाट गीत प्रस्तुत गरिएको थियो भने वरिष्ठ पत्रकार रामरिझन यादवले मैथिली भाषा र हकहितसम्बन्धी मन्तव्य व्यक्त गरे ।

सम्मानित स्रष्टाद्वयबाट मौलिक रचना, गीत तथा गजल वाचन गरिएको कार्यक्रममा सङ्गीतालयका विद्यार्थीहरूले मैथिली गीत प्रस्तुत गरी कार्यक्रमलाई अझ आकर्षक बनाए। कार्यक्रममा डोमी कामत, कर्ण संजय, भूषण ढुंगेल, विदुर सुवेदी, श्याम वास्कोटा, कृष्ण अटल, वसुन्धरा–राजेश झा, श्याम पौडेल, पत्रकार वरुण मिश्र, सुजाता राईलगायत ब्राह्मण समाजका गण्यमान्य
व्यक्तित्वहरूको उल्लेखनीय सहभागिताले भिड्भाड् अझ सुन्दर र रोचक महोल बन्यो।
लक्ष्मीरमण झाको सञ्चालनमा सम्पन्न कार्यक्रमको समापन सभाध्यक्ष गुरु कुशेश्वर राईले गरेका थिए।





