आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महिन्द्र राय यादव र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीचको रोचक प्रतिस्पर्धा यसपटक पनि हुने भएको छ ।
यी दुई चर्चित उम्मेदवारसंगै मुख्य दलहरु नेपाली कांग्रेसका तर्फबाट डा. सरोज यादव, नेकपा एमालेका तर्फबाट नागेश्वर साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रबिन महतोले समेत उम्मेदवारी दिएका छन् । २०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेस– माओवादीसहितको सत्ता गठबन्धनबाट तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर यादव निर्वाचित भएका थिए ।
राय र महतो सर्लाही– २ मा दोस्रोपटक पनि एकअर्काका प्रतिद्वन्द्वी हुँदा यस क्षेत्रको निर्वाचन भने रोचक देखिन्छ । त्यसबेलाको निर्वाचनमा रायले महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका थिए । रायले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गरेका थिए । २०७४ सालमा धनुषा– ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतो ०७९ सालको निर्वाचनमा आफ्नै गृहजिल्ला सर्लाही फर्केका थिए ।
यसपटक पनि उनले निर्वाचन लड्न गृहजिल्ला सर्लाही नै रोजे । राय र महतो दुवै पटकपटक सांसद र मन्त्री भइसकेका नेता हुन् । महतोको घर सर्लाही क्षेत्र नम्बर १ को चन्द्रनगर गाउँपालिका–२ स्थित बबरगञ्जमा पर्छ भने राय सर्लाही– २ कै हरिपूर्वा नगरपालिकाकावासी हुन् । यादव र महतोबीच २०७० सालमा पनि प्रतिस्पर्धा भएको थियो ।
तर उक्त निर्वाचनमा पनि महतो पराजित भएका थिए । त्यतिबेला यादवले तराई– मधेश सद्भावना पार्टीका तर्फबाट निर्वाचन जितेका थिए । महतो सद्भावना पार्टीका उम्मेदवार थिए ।त्यस्तै २०७४ सालमा भने यादव र महतो एउटै पार्टीमा थिए ।तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट यादव सर्लाही– २ बाट निर्वाचित भएका थिए भने महतो धनुषा– ३ मा गएका थिए । तेस्रो मधेश आन्दोलनको बलमा जनकपुरधामबाट महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।




