धनुषा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शुक्रबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीले योजनाबद्ध रूपमा तीन तहमा काम गर्ने तयारी गरेको जानकारी दिनुभयो।

उहाँले पहिलो तहमा राष्ट्रिय स्तरको दीर्घकालीन सोच र योजना निर्माण गर्ने बताउनुभयो। दोस्रो तहमा मधेशका विशेष मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने जानकारी गराउँदै उहाँले तेस्रो तहमा स्थानीय तहका समस्या उठाउँदै सभा–जुलुसभन्दा बढी घर–घर पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने जानकारी गराउनुभयो ।

उहाँले वर्तमान अवस्थामा देशलाई सही दिशा देखाउने नेतृत्व कांग्रेसले नै अघि सार्ने दाबी गर्नुभयो।
सभापति थापाले पार्टीभित्र अनुशासन मजबुत बनाउन अनुशासन समिति गठन गरी निगरानी गरिने जानकारी दिनुहुँदै नयाँ–पुराना तथा पार्टीबाट टाढा भएका नेता–कार्यकर्तालाई समेत एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
यस अघि सभापति थापाले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका कार्यकर्तासँग भेटघाट समेत गर्नुभएको छ।

सो क्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को धनुषाको महेन्द्रनगरमा नेपाली कांग्रेसको चुनावी प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै सभापति थापाले क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र यादवको प्रशंसा गर्दै उनी मधेसको मुद्दामा निडर भएर बोल्ने नेता भएको बताउनुभयाे ।

विद्यार्थी राजनीतिदेखि नै सँगै काम गरेको स्मरण गर्दै थापाले पार्टीभित्रका छलफलमा फरक मत रहे पनि मधेसको विकास र मुद्दामा यादवले कहिल्यै सम्झौता नगरेको र कुनै नेताको मुख नहेरी आफ्नो कुरा राख्ने गरेको प्रस्ट पार्नुभयो। उहाँले महेन्द्र यादवले मधेसको असल प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उम्मेदवार महेन्द्र यादबले सभापति थापा मधेसमा आउनु मधेसको शान बढेको बताउनुभयाे ।
नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारको अध्यक्षतामा सम्पन्न क्षेत्र नं ४ को कार्यक्रममा अन्य पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ताहरु काँग्रेस पार्टीमा प्रवेश गरेका थिए ।
साथै मधेश प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई अझ प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा मार्गदर्शन तथा विचार–विमर्श गरिएको थियो।

बैठकमा आगामी माघ ७ गते आयोजना हुने मधेश सभाको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा विस्तृत छलफल गरिएको कांग्रेस मधेश प्रदेश समितिले जनाएको छ।
बैठकमा कांग्रेस मधेश प्रदेशका सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, आठ वटै जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, उम्मेदवार लगायतको उपस्थिति रहेको थियो।




