ढल्केबर । करसम्बन्धी कामका लागि अब जनकपुर र बर्दिवास जानुपर्दैन।
धनुषाको ढल्केबरस्थित मिथिला नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ। नेपाल सरकारको कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने निर्णयअनुसार सोमबार आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले सेवाको शुभारम्भ गर्नुभएको हो।



उद्घाटन समारोहमा बोल्दै महानिर्देशक दहालले नागरिकलाई घरदैलोमै कर सेवा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभयो। उहाँले सङ्घीय सरकारले अधिकार विकेन्द्रीकरण गर्दै मिथिला नगरपालिकालाई ३१औँ पालिकाका रूपमा करदाता सेवासम्बन्धी अधिकार हस्तान्तरण गरिएको जानकारी दिँदै यसबाट सेवाग्राहीको समय, श्रम र खर्च बचत हुने उल्लेख गर्नुभयो।
नगर प्रमुख महेन्द्र महतोले मधेश प्रदेशमै स्थानीय तहबाट आन्तरिक राजस्व सेवा सञ्चालन गर्ने मिथिला नगरपालिका पहिलो बनेको दाबी गर्नुभयो। कार्यालय सञ्चालनसँगै स्थानीय व्यवसायी, उद्योगी तथा करदाताले करसम्बन्धी सेवा सहज, छिटो र प्रभावकारी रूपमा पाउने उहाँले बताउनुभयो।





