प्रतिनिधिसभा निर्वाचनका लागि भारतले नेपाली सेनाका लागि ५० सहित ५८९ सवारीसाधन हस्तान्तरण गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतले नेपाल सरकारलाई उपहार स्वरूप सवारी साधन तथा अन्य सामग्री हस्तान्तरण गरेको हो ।
गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गृहमन्त्री, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुखलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।
भारत सरकारले पहिलो चरणमा ६२ वटा, दोस्रो चरणमा २५४ वटा र तेस्रो चरणमा २२३ वटा गरी कुल ५८९ वटा सवारीसाधन हस्तान्तरण गरेको जनाएको छ ।
साथै आजकै कार्यक्रममा नेपाली सेनाका लागि ५० वटा सवारीसाधन समेत हस्तान्तरण गरिएको छ । निर्वाचन प्रयोजनका लागि आवश्यक सवारीसाधन उपलब्ध गराउन गृहले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायताको अनुरोध गरेको थियो । सोही अनुरूप भारत सरकारले सवारीसाधन उपलब्ध गराएको हो ।




