नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधिसभामा महोत्तरी १ का उम्मेद्वार गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र नं.१ अन्तर्गत जनभेटघाट कार्यक्रमलाई तीव्रता दिँदै चौथो दिन बर्दिवास नगरपालिका–८ मा घरदैलो अभियान सम्पन्न गरेका छन् ।
दोश्रो चरणको भेटघाट अभियानअन्तर्गत उनले स्थानीय बासिन्दाको घरदैलोमै पुगेर गुनासा, सुझाव तथा आगामी दिनमा गर्नुपर्ने प्राथमिकताका विषयमा प्रत्यक्ष संवाद गरिरहेको निर्वाचन परिचालन समितिले जनाएको छ।



उम्मेदवार पोखरेलले जनताको आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा रोजगारीलाई केन्द्रमा राखेर विकासका ठूला तथा दीर्घकालीन योजनाहरू अघि सार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घरदैलोमा पुगेर जनताको समस्या प्रत्यक्ष सुन्न पाउँदा आफू थप जिम्मेवार र उत्साहित भएको बताउँदै योजनाबद्ध ढंगले बेरोजगारी न्यूनीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढ्ने उन्को भनाई छ ।
गौशाला, भंगाहा र बर्दिवास क्षेत्रमा यसअघि सुरू गरिएका तर अपूरा रहेका विकास योजनाहरूलाई पूर्णता दिने तथा वातावरणमैत्री र दीर्घकालीन विकास रणनीतिमार्फत स्थानीयको जीवनस्तर गुणात्मक रूपमा उकास्ने पोखरेलको जोड रहेको छ।




