महोत्तरीको बर्दिवास नगरपालिका–१ का ८८ वर्षीय खड्गबहादुर बस्नेत जब २०६० सालअघिको बर्दिवास सम्झिन्छन्, उनी आफैँलाई प्रश्न गर्छन्— ‘यही ठाउँ हो र, फुसका घरहरू मात्रै थिए, मान्छे बसाइँ सर्न बाध्य हुन्थे ?’ आजको बर्दिवास उनको स्मृतिको बर्दिवासभन्दा बिल्कुल फरक छ । जहाँ अहिले भीमकाय पक्की घर, व्यापारिक कम्प्लेक्स, सुविधासम्पन्न निजी तथा सरकारी अस्पताल, चारतारे होटल, बैंक तथा वित्तीय संस्थाका शाखा र विद्यार्थी तान्ने ठुला शैक्षिक संस्थान देखिन्छन्, त्यही ठाउँ कुनै समय सामाजिक उपेक्षा र आर्थिक पछौटेपनको प्रतीक थियो ।
छोटो समयमा बर्दिवासले बनाएको आफ्नै परिचयका पछाडि अनेकौ कारण भए पनि यति धेरै परिवर्तन हुनुमा महेन्द्र राजमार्ग र बिपी राजमार्ग मुख्य कारक हो जस्तो लाग्छ स्थानीय युवा निरज अधिकारीलाई पनि । २० वर्षअघि खरले छाएका साना घर मात्र भएको स्मरण गर्दै अधिकारीले आफ्नै आँखाअगाडि छोटो समयमै भीमकाय घरहरू देखे, सुविधासम्पन्न अस्पताल देखे, पढ्नका लागि चारैतिरबाट विद्यार्थी आउने ठुला शिक्षालय पनि देखे । ‘हेर्दाहेर्दै फुसका घरहरू विस्थापन भए, अनि मानिसले घर बनाएर कोठा भाडा लगाउन थाले,’ उनी भन्छन्, ‘अझ बिपी राजमार्ग खुलेपछि त बर्दिवासको चहलपहल एक्कासि अकासियो ।’
राजमार्ग खुलेसँगै अहिले आर्थिक रूपान्तरणमा अघि बढेको बर्दिवास देशकै व्यस्त सहरमध्ये पर्छ । व्यापारिक रूपमा ठुला लगानीका चारतारे होटल खुलेका छन्, होलसेल पसलहरूका कारण व्यापारिक केन्द्र बनेको छ । कुनै बेला पानीको अभाव सिर्जना भएपछि बसाइँसराइ गर्नु यहाँ स्वाभाविक बन्थ्यो । अझ यति धेरै उपेक्षाको दृष्टिले हेरिन्थ्यो कि यस ठाउँका युवाहरूले बिहेका लागि केटीसमेत पाउँदैनथे । ‘विगत सम्झिँदा यस्तो पनि भयो र ? भन्ने लाग्छ,’ ७५ वर्षीय शंकर थापा भन्छन्, ‘बिपी र पूर्व–पशिम राजमार्गको संगमस्थलले बर्दिवासको रूप नै परिवर्तन गरिदियो ।’ ‘पहिले यहाँ केही पसलहरू मात्र थिए । हामी किसाननगरबाट दूध ल्याएर बेच्ने गथ्र्यौं,’ बर्सिवास–६ किसाननगरका विजय यादव भन्छन्, ‘बर्दिवासले यति चाँडै उचाइ लिन्छ भन्ने हामीले सोचेकै थिएनौँ ।’ राजमार्गकै कारण बर्दिवास छोटो समयमै सहरमा रूपान्तरण भएको उनको बुझाइ छ ।
छोटो समयमै बर्दिवासप्रतिको आकर्षण निरन्तर बढेको जनघनत्वले पनि प्रमाणित गर्छ । नगरपालिकाको पञ्जीकरण शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार बसाइँ सरी जानेभन्दा बर्दिवास आउनेको संख्या तेब्बर छ । पछिल्लो ७ वर्षको अवधिमा बसाइँ सरी आउने घरपरिवारको संख्या मात्र ६६६ पुगेको छ । पञ्जीकरण शाखाकी कर्मचारी इन्दिरा पहाडीका अनुसार, वडा–१ मा २११ घरपरिवार अन्यत्रबाट बसाइँ सरी आएका छन् । यस्तै, वडा–२ मा १८१, ३ मा १८६, १४ मा ८८ घरपरिवार अन्तबाट यहाँ बसाइँ सरेर आएका छन् । बर्दिवासको पुरानो बजारमा वडा १, २, ३ र १४ पर्छन् । तर, बजार विस्तार हुँदै अहिले वडा–४ र ५ समेत भरिइसकेको छ ।
बर्दिवास नेपालको त्यस्तो सहर हो, जहाँ तराई–पहाड–राजधानी तीनै भूगोलको यात्राको संगम विन्दु पर्छ । पूर्वपश्चिम राजमार्गले यसलाई तराईका सबै मुख्य सहरसँग जोड्छ भने बिपी राजमार्गले काठमाडौँ, सिन्धुली र पहाडी जिल्लासँग प्रत्यक्ष सम्पर्क स्थापित गराएको छ । यो भौगोलिक अवस्थिति बर्दिवासका लागि यातायात सुविधा मात्र होइन, आर्थिक सम्भावनाको ढोका बन्यो । नेपालमा राजमार्गकेन्द्रित सहरीकरणको इतिहास हेर्दा, जहाँ २ वा सोभन्दा बढी प्रमुख राजमार्ग भेटिन्छन्, त्यहाँ व्यापार, सेवा र बसोवास तीव्र गतिमा बढेको देखिन्छ । बर्दिवास त्यसैको उदाहरण हो ।
किन सुस्ताए अन्य सहर ?
राजमार्ग आसपासका अन्य सहरहरू निरन्तर ओरालो लागिरहँदा बर्दिवास भने सधैँ रफ्तारमा नै रह्यो । सप्तरीदेखी पर्सासम्म आइपुग्दा राजमार्गले उचालेका सहरहरू राजमार्गबाट नै अधोगतिमा रहे । कुनै बेला निकै चर्चामा रहेको सर्लाहीको लालबन्दी, धनुषाको लालगढसँग प्रतिस्पर्धा गरेको बर्दिवास अहिले प्रदेशको राजधानी जनकपुरसँग प्रतिस्पर्धा गरिरहेको छ । जिल्लाको सदरमुकामलाई समेत विकासका दृष्टिले बर्दिवासले निकै पछाडि छाडिसकेको छ । जनसंख्याको चापसँगै बर्दिवासमा खुलेका इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, क्षेत्रीय कर कार्यालयजस्ता सरकारी कार्यालयले जिल्लाको उत्तरी क्षेत्र मात्र होइन, सिन्धुली, सर्लाहीलगायत जिल्लाका मानिसका लागि बर्दिवास केन्द्रविन्दु बनेको छ । राजमार्गले खोलेका अवसरहरूको सदुपयोग भने यहाँ जनप्रतिनिधि तथा राजनीतिक तहबाट नै भएको देखिन्छ ।
जिल्ला सदरमुकाम नै जान छाडे ३ पालिकाका स्थानीय
सदरमुकाम जलेश्वर बाक्लै आवतजावत गर्ने मानिसहरूलाई पनि बर्दिवासले रोकेको छ । उत्तरी क्षेत्रका पालिकाहरू गौशाला, औरही र भंगाहा नगरपालिकाका स्थानीय धेरैजसो अहिले बाध्यकारी कामबाहेक जलेश्वर जाँदैनन् । भंगाहा नगरपालिकाका विनोद साह नापी, मालपोत, नागरिकता तथा अन्य कामका लागि जलेश्वर नगएको वर्षौं भएको सम्झिन्छन । ‘जलेश्वर जाँदा काम गर्न पनि अलि झन्झटिलो छ । बर्दिवास दुरीको हिसाबले पनि नजिक भएकाले आजकाल हामी जलेश्वर जाँदैनौँ,’ उनी भन्छन्, ‘संघीयता आएपछि मध्यविन्दु भएको हिसाबले कार्यालयहरू पनि यतै स्थापना भए ।’ अदालती कामबाहेक सबै काम अहिले बर्दिवासमै हुन्छ । केही समयअघि मात्र क्षेत्रीय कर कार्यालय बर्दिवासमै खुलेको छ । जलेश्वरमा भएको कर कार्यालयसमेत खारेज भएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र–१ को ३६ हजार ४० घरपरिवारमध्ये ३०.६३ प्रतिशतका त पक्की भीमकाय घर छन् । यसमध्ये कैयौँ व्यापारिक कम्प्लेक्स छन् । २४.३३ प्रतिशत घरहरू अर्धपक्की छन । यी घरहरू प्रायः सहरी क्षेत्रमा छन् । बाँकी ४५.०३ घरहरू कच्ची छन्, जुन ग्रामीण क्षेत्रमा पर्छन् । यसरी २०६८ को तथ्यांकअनुसार पक्की घरको संख्या १० गुणाले बढेको देखिएको छ । बसाइँसराइमा समेत जाने न्यून छ भने आउनेहरूको संख्या उच्च छ ।
व्यापारिक केन्द्र बन्दै
व्यापार, व्यवसायको सम्भावना देखेपछि बर्दिवासमा अहिले पनि देशैभरबाट ठुला लगानीकर्ता भित्रिएका छन् । दर्जनौँ होलसेल, हार्डवेयर पसल मात्र होइन, ठुल्ठुला कम्पनीका आधिकारिक बिक्रेता डिलरहरू पनि बर्दिवास आएका छन् । होङ्सी सिमेन्ट, कजारिया, रंग, हार्डवेयर उत्पादकहरूका आधिकारिक बिक्रेताहरूका कारण बर्दिवास देशैभरिका व्यापारीहरूका लागि आवतजावत गर्ने माध्यम बनेको छ । यहाँ पाँचतारे होटल खुल्ने क्रममा छन् भने चारतारेसम्म होटलहरू खुलिसकेका छन् । होटल व्यवसायी विष्णु खड्का भन्छन्, ‘बिपी राजमार्गले तराई–पहाड जोडेपछि चहलपहल बढ्न थाल्यो । त्यसपछि बर्दिवासमा व्यापारिक गतिविधिले पनि तीव्रता पायो ।’
खड्का जस्तै देशका विभिन्न ठाउँबाट व्यापार गर्न बर्दिवास आएकाहरूले नै बर्दिवासको चहलपहल बढाएका हुन् । दोलाखा च्यामाबाट आएका नारायण घिमिरे पनि सम्भावना देखेपछि काठमाडौँको व्यवसाय छाडेर बर्दिवास झरेको बताउँछन् । घिमिरेका ४ दाजुभाइमध्ये ३ जनाले बर्दिवासमै नै व्यवसाय गरिरहेका छन । देशैभरबाट बर्दिवास केन्द्रित हुने मानिसहरूको चाप देखेर होटल व्यवसायमा सम्भावना देखेको उनको भनाइ छ । सिन्धुलीको भिमानबाट खुलेको धरान–चतरा राजमार्गले यहाँ केही मात्रामा असर गरे पनि विकल्प तयार गरेर यात्रु तान्ने र आधार निर्माण गर्नेतर्फ स्थानीय अग्रसर भएका छन् । बर्दिवास धार्मिक, सांस्कृतिक विविधता र बहुलताले पनि भरिपूर्ण भएको संस्कृतिविद् वीरबहादुर महतो बताउँछन् ।
मधेस आन्दोलनको समयमा जनकपुरबाट विस्थापन भएका कैयौँ मानिस तत्कालीन समयमा बर्दिवासमा बसाइँ सरे । पहाड र मधेसबीच भौगोलिक द्वन्द्व सिर्जना गरिएपछि विशेषगरी जनकपुरमा बस्ने पहाडी समुदायका मानिस बर्दिवास आएर बसेका थिए । एक अन्तराष्ट्रिय संस्था आइडिएमसीका अनुसार त्यसबेला मधेस प्रदेशबाट लगभग ६ हजार मानिस विस्थापन भएको तथ्यांक छ । यसमध्ये ४० प्रतिशत मानिस बर्दिवासमा बसाइँ सरेर आएको देखिएको छ । त्यसपछिका तथ्यांक हेर्ने हो भने अहिले जनकपुरका स्थानीय नै बर्दिवास आएर बस्ने गरेका छन् । जनकपुरबाट सरेर बर्दिवास–३ स्थित गौरीडाँडामा घर बनाएर बसेका सञ्जयकुमार दास हावापानीका दृष्टिले र आवतजावतमा सहज हुने भएकाले यतै बसेको बताउँछन् ।
सहरले सहरलाई नै निल्यो
कुनै बेला गाडी चढ्न लालगढसम्म पुग्ने गरेको बर्दिवास–१ का स्थानीय राजु खड्काले अझै बिर्सिन सकेका छैनन् । जनकपुर जान मात्र होइन, पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्न लालगढसम्म पुग्नुपर्ने बाध्यता २०५७ सालसम्म पनि यथावत् नै थियो । तर, अहिले लालगढ बर्दिवासको रापतापले खुम्चिएन मात्रै, पुरानो विरासत नै समाप्त भयो । कुनै बेला व्यापारिक सहर नै मधेस प्रदेशको लालगढ थियो । राजमार्गले छोएको चुरे क्षेत्रका प्रायः सहरहरू सुस्ताउँदै जाँदा बर्दिवास भने थप फस्टाउने र परिमार्जित हुने क्रम जारी छ । अत्यधिक चहलपहल हुने यो राजमार्गलाई चौडा गर्न काम धमाधम भइरहेको छ । सिरहादेखि सप्तरीसम्म आधारभूत काम सकिइसकेको छ भने रौतहटदेखि महोत्तरीसम्म धमाधम काम भइरहेको छ ।


