महोत्तरी–१ अन्तर्गत भंगाहा नगरपालिका–९, अजगेवाका प्रदीप यादवको प्रश्न चुनावी माहोलमै गुञ्जियो—“लोकतन्त्र र संघीयता आएको दुई दशक भयो, तर देश र जनताले के पाए? रोप्ने बेलामा आलुको बीउ ५० रुपैयाँ किलो पर्छ, तर किसानले उत्पादन गरेपछि १० रुपैयाँमा पनि बिक्दैन। गाउँका युवा विदेश नगएर के गर्ने? यही हो लोकतन्त्र?”
भारतको चेन्नईबाट मजदुरी गरेर भर्खरै फर्किएका २७ वर्षीय विपिन सदा पनि उस्तै जिज्ञासामा छन्—“लोकतन्त्र र संघीयताको उपलब्धि आखिर गाउँसम्म कहिले पुग्छ?”
कांग्रेस उम्मेदवार मुकेशराज काफ्ले घरदैलो कार्यक्रमका क्रममा अजगेवा पुग्दा मुसहर बस्ती नजिकै उठेका यी प्रश्नहरूले केहीबेर प्रचार अभियान नै रोकेको थियो। जवाफमा काफ्लेले भने, “यी प्रश्न जनताको पीडाको अभिव्यक्ति हुन्। यसलाई केवल सुन्ने होइन, समाधान गर्ने प्रयास मेरो प्राथमिकता हुनेछ।”
यसपटक चुनावी प्रचारका क्रममा उम्मेदवारसँग सोधिने यस्ता प्रश्नहरूले माहोललाई थप गम्भीर बनाएको छ। कांग्रेस बुथ कमिटीका अध्यक्ष कृष्ण यादवका अनुसार अजगेवाको सानो बस्तीमा करिब चार हजार मतदाता छन्, जसले निर्वाचन परिणामलाई निर्णायक बनाउन सक्छन्। तर गाउँमा बेरोजगारी, अशिक्षा, स्वास्थ्य सेवाको अभाव, खानेपानी समस्या र कृषि संकट जस्ता मुद्दा यथावत् छन्। “जितेर गएपछि नेताहरू फर्केर नआउने प्रवृत्तिले समस्या जस्ताको त्यस्तै छ,” स्थानीयको गुनासो छ।
अजगेवाको मुसहर बस्तीमा २५ परिवार बसोबास गर्छन्। सबै सुकुम्बासी छन्। अशिक्षा र बेरोजगारी व्यापक छ। खानेपानीका लागि एउटा मात्र धारा छ, जसले गर्दा झगडासमेत हुने गर्छ। सार्वजनिक दलान (बसघरा) नहुँदा सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुन्छ। रोजगारीको खोजीमा अधिकांश युवा भारत जान बाध्य छन्। चेन्नईका होटलमा काम गर्ने करिब ५० युवा मतदानका लागि गाउँ फर्किएका छन्।
१४ वर्षदेखि चेन्नईमा कार्यरत विपिन सदाका अनुसार खानेपानी र आधारभूत पूर्वाधारको अभावले दैनिक जीवन कष्टकर बनेको छ। “यसअघि जिताएर पठाएका प्रतिनिधिले वाचा पूरा गरेनन्, त्यसैले यसपटक परिवर्तनकारी उम्मेदवार खोजिरहेका छौँ,” उनी भन्छन्।
८५ वर्षीय राजेन्द्र यादव भन्छन्, “कृषिमा ध्यान दिए गाउँ आफैं विकास हुन्छ। सिँचाइको राम्रो व्यवस्था भए पाँच बिघामा दुई सय मनभन्दा बढी धान फल्न सक्छ।”
सडक छेउमा गुइँठा पारिरहेकी ६० वर्षीया देवकलीदेवी र श्रवतीदेवीलाई लोकतन्त्र र संघीयताको अनुभूति अझै भएको छैन। “पहिले पनि सर्पदंश र सुत्केरी हुँदा ज्यान जान्थ्यो, अहिले पनि अवस्था उस्तै छ,” उनीहरू बताउँछन्।
स्नातक उत्तीर्ण रमिता यादवका अनुसार अजगेवाबाट करिब पाँच किलोमिटर टाढा रहेको हरिहरपुर स्वास्थ्य चौकीमा सहज सेवा नपाउँदा सुत्केरी र सर्पदंशका घटनामा ज्यान गुमाउने जोखिम अझै कायम छ। “चुनावका बेला आएका नेतालाई फेरि भेट्न अर्को चुनाव कुर्नुपर्छ,” उनी भन्छिन्।
बर्दीबासका समाजसेवी पोषण थापाको धारणा छ, “अजगेवाको कथा केवल एउटा गाउँको होइन, ग्रामीण नेपालकै प्रतिनिधि समस्या हो।”







