मिथिला माध्यमिकी परिक्रमा सोमवार कञ्चनवन पुग्नेछ ।
कञ्चन वनमा परिक्रमा टोलीलाई भव्य स्वागत गरिनेछ । कञ्चन वनमा साधुसन्त तथा सहभागी श्रद्धालुहरुले प्रत्येक वर्ष होली खेल्दै आएको छ ।
सोही परम्परा अनुसार यसवर्ष पनि परिक्रमा विश्रामको क्रममा होली खेलिनेछ । मिथिलामा कञ्चन वनमा होली खेलेसँग होलीको सुरुवात हुने मानिदै आएको छ ।
फागुन ४ गतेदेखि शुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै धु्रवकुण्ड पुगेका थिए ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र मिथिलाबिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत रुपमा १५ दिने यात्रा तय गरिरहेका छन् ।
कञ्चनवन पश्चात पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ ।
नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा जाने गरेका छन् ।
यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।




