महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को बर्दिबास आउनुहुने भएको छ। क्षेत्रको समग्र अवस्था, विकासका चुनौती तथा स्थानीयवासीका दैनिक समस्याबारे प्रत्यक्ष जानकारी लिन र कार्यकर्तासँग अन्तरक्रिया गर्न सभापति लामिछानेको बर्दिबास आउने स्थानीय नेताहरुले बताएका छन् ।
लामिछाने आज दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा स्थानीयवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सम्बोधनका क्रममा क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार र सुशासनका विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरिने जनाइएको छ।पार्टीका महोत्तरी जिल्ला सभापति शुभम कुमार यादवले सभापति लामिछाने स्वयं क्षेत्रको वस्तुस्थिति बुझ्न र जनताको आवाज प्रत्यक्ष सुन्न बर्दिबास आउन लाग्नुभएको जानकारी दिनुभयो।



उहाँका अनुसार कार्यक्रममार्फत नागरिकसँग खुला संवाद गर्दै आगामी कार्ययोजना तथा पार्टीको नीति–कार्यक्रमबारे जानकारी गराइनेछ। कार्यक्रम सफल बनाउन स्थानीय कार्यकर्ता तथा समर्थकहरू सक्रिय तयारीमा जुटेको पार्टीले जनाएको छ।




