महोत्तरी – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर विशेष सुरक्षा तथा व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गरेको छ।
प्रशासनले निर्वाचनलाई लक्षित गर्दै सवारी साधन सञ्चालनमा रोक, ड्रोन उडान निषेध तथा भारतसँग जोडिएका सम्पूर्ण सीमानाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइनेछ।
एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, पानी तथा दूधका ट्याङ्कर, शव वाहन, अस्पताल तथा विद्युत सेवाका सवारी साधन, कूटनीतिक नियोगका सवारी र अनुमति प्राप्त सवारी साधनलाई भने सञ्चालन गर्न दिइने जनाइएको छ।
यसैगरी निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्लाभर ड्रोन उडानमा प्रतिबन्ध लगाइएको छ। फागुन १८ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म कुनै पनि प्रकारका ड्रोन सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ। निषेधाज्ञा उल्लङ्घन गरी ड्रोन सञ्चालन गरेको पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमा सुरक्षामा पनि कडाइ गरिएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका सबै सीमानाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने प्रशासनले जनाएको छ। सीमा बन्द अवधिमा आवतजावतमा रोक लगाइने भए पनि अत्यावश्यक तथा अनुमति प्राप्त गतिविधिलाई सहजीकरण गरिने बताइएको छ।
प्रमुख जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर सुरक्षा निकायसँग समन्वय गरी आवश्यक निगरानी, चेकजाँच तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै प्रशासनले नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई जारी सूचनाको पालना गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।



