धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिका–५स्थित हरिहरेश्वर मन्दिर परिसर शनिबार साहित्यिक गतिविधिले व्यस्त बनेको थियो। कमला साहित्य कला समाज धनुषाको आयोजनामा साहित्य रचना वाचन तथा फागु पूर्णिमाको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको थियो।
समाजका अध्यक्ष गणेश तिमल्सिना ‘गति’को सभापतित्वमा कार्यक्रम भएको थियो। गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे (अग्निकवज) प्रमुख अतिथि रहेका थिए। साथै सिस्नोपानी नेपाल महोत्तरीका अध्यक्ष नारद काफ्ले, ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रमका सञ्चालक जीवनराज दाहाल, राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त गौतमलगायतको उपस्थिति रहेको थियो।



कार्यक्रममा मुकेश यादव, किशोर एक्यैँ, महेश महतो, सुमन अधिकारी र गोविन्द खड्काले आफ्ना रचना वाचन गरेका थिए। प्रमुख अतिथि प्रेम घिमिरे, नारद काफ्ले र जीवनराज दाहालले पनि साहित्यिक रचना प्रस्तुत गरेका थिए।

भजनतर्फ कमला एकादशी समूहका सुलेखा गिरि, विमला उपाध्याय र लिलामाया खड्काले प्रस्तुति दिएका थिए। कार्यक्रमका फोटो तथा भिडियो नारायण घिमिरेले खिचेका थिए भने नवराज घिमिरेले आगन्तुकलाई टीका लगाएका थिए।
कार्यक्रमकै अवसरमा अध्यक्ष तिमल्सिना ‘गति’द्वारा लिखित मुक्तकसंग्रह ‘मनोगति’को प्रचार–प्रसारमा सहयोग पुर्याएको भन्दै पत्रकार तथा साहित्यकार जीवनराज दाहाललाई सम्मान गरिएको थियो।
खादा तथा ब्याच वितरण र चिया–खाजाको व्यवस्थासहित कार्यक्रम सम्पन्न भएको थियो। अन्त्यमा अध्यक्ष तिमल्सिना ‘गति’ले आभार व्यक्त गर्दै केही मुक्तक वाचन गरेका थिए।




