महोत्तरी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाभर मतदान केन्द्र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचनको तयारी स्वरूप जिल्लामा ३७ वटा मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार महोत्तरीमा २५८ वटा मतदान स्थल तोकिएका छन्।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा कूल ५३६ वटा मतदान केन्द्र कायम गरिएको जानकारी दिनुभयो। यसअघि ४९९ वटा मतदान केन्द्र रहेकामा ३७ थप गरी ५३६ पुर्याइएको उहाँले बताउनुभयो। चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा निर्वाचन क्षेत्र नम्बर १ मा ५९ मतदान स्थल र १३० मतदान केन्द्र कायम गरिएका छन्। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा ६२ मतदान स्थल र १३३ मतदान केन्द्र तोकिएका छन्।




निर्वाचन क्षेत्र नम्बर ३ मा ७७ मतदान स्थल र १४२ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर ४ मा ६० मतदान स्थल र १३१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी झाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाबाट चार लाख ३१ हजार २८२ जना मतदाताले मतदान गर्नेछन्।

निर्वाचन आयोगले मतदानका दिन मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा साथमा लिएर मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ। साथै राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका लागि मान्य हुने जनाइएको छ।

आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तथा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकले तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउने व्यवस्था गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको जनाइएको छ।






