महोत्तरी - महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा मतदानका क्रममा झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परी टाउकोमा गहिरो चोट लागेका सन्जित सिंहको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
घटनामा सन्जित सिंह (गम्भीर), रन्जित सिंह, विक्रम महतो, नागेन्द्र सिंह र भोरिल यादव घाइते भएका छन् । गम्भीर घाइते सिंहलाई काठमाडौँ रिफर गरिएको छ, भने अन्य दुई जनाको स्थानीय सुभस्वतिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरूमा अधिकांश नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेका छन् । घाइतेमध्येका भोरिल यादव नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
अशक्त र बिरामी आफन्तहरूको प्रतिनिधि बनेर एकै व्यक्तिले पटक-पटक मतदान गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो । सोही विवादले उग्र रूप लिँदा राजनीतिक दलका कार्यकर्ताहरूबीच हातहालाहाल र झडप भएको हो ।




