महोत्तरी - प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। सार्वजनिक अन्तिम मतपरिणामअनुसार रास्वपाले जिल्लाका सबै क्षेत्र आफ्नो पक्षमा पार्दै क्लिन स्वीप गरेको छ।

निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरे भने नेकपा (एमाले) बाट २०७९ मा निर्वाचित लक्ष्मी महतो कोइरी ६ हजार ५९१ मतसहित तेस्रो स्थानमा रहे। यस क्षेत्रमा कुल १ लाख ५ हजार ६४६ मतदाता रहेकामा ६७ हजार १९७ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ६३ हजार २४३ मत सदर र ३ हजार ९५४ मत बदर भएको थियो। प्रतिशतमा हेर्दा मतदान दर ६३.६० प्रतिशत, मत सदर ९४.११ प्रतिशत र मत बदर ५.८८ प्रतिशत रहेको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका दीपककुमार साह ३२ हजार ७२२ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका पूर्वमन्त्री शरतसिंह भण्डारी १० हजार १९८ मतसहित दोस्रो स्थानमा रहे। नेपाली कांग्रेसकी किरण यादव ९ हजार ७४५ मतसहित तेस्रो स्थानमा रहिन्। यस क्षेत्रमा कुल १ लाख ७ हजार ५९४ मतदाता रहेकामा ६४ हजार ५९६ जनाले मतदान गरेका थिए। मतदान दर ६०.०३ प्रतिशत, मत सदर ९१.५६ प्रतिशत र मत बदर ८.४३ प्रतिशत रहेको छ।

जिल्ला सदरमुकाम रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उज्ज्वलकुमार झा ३२ हजार ४५१ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल संघीय समाजवादी फोरमका अध्यक्ष मोहम्मद रिजवान ५ हजार ९६९ मतसहित दोस्रो स्थानमा रहे। स्वतन्त्र उम्मेदवार रामआधार कापर ४ हजार ७९० मतसहित तेस्रो स्थानमा रहे। पछिल्ला दुई निर्वाचनमा विजयी हुँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले आफ्नी छोरीलाई उम्मेदवार बनाएका थिए, तर यस क्षेत्रमा जसपाले आफ्नो प्रभाव कायम राख्न सकेन। यस क्षेत्रमा कुल १ लाख १० हजार ४३६ मतदाता रहेकामा ६४ हजार ४८८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ५९ हजार ४७८ मत सदर र ५ हजार १० मत बदर भएको छ।

निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाकी गौरी यादव ३० हजार १३२ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव ८ हजार ७४२ मतसहित दोस्रो स्थानमा रहे। २०७९ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका महेन्द्रकुमार राय ६ हजार ९४४ मतसहित तेस्रो स्थानमा रहे। यस क्षेत्रमा कुल १ लाख ७ हजार ६०६ मतदाता रहेकामा ६५ हजार ६५ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ५९ हजार ५४३ मत सदर र ५ हजार ५२२ मत बदर भएको छ।
चारवटै निर्वाचन क्षेत्रको समग्र तथ्याङ्कअनुसार महोत्तरीमा कुल ४ लाख ३१ हजार २८२ मतदाता रहेकामा २ लाख ६१ हजार ३४६ जनाले मतदान गरेका छन्। कुल खसेको मतमध्ये २ लाख ४१ हजार ४११ (९२.३७ प्रतिशत) मत सदर र १९ हजार ९३५ (७.६२ प्रतिशत) मत बदर भएको छ।

रास्वपा महोत्तरी जिल्ला सभापति शुभम कुमार यादवले चारै क्षेत्रमा प्राप्त विजयलाई जनताको परिवर्तनप्रतिको विश्वासको परिणाम भएको टिप्पणी गर्दै भन्नुभयो, “महोत्तरीका मतदाताले पुराना शैलीको राजनीतिप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ विकल्पलाई विश्वास गर्नुभएको छ। चारै क्षेत्रमा प्राप्त विजय जनताको आशा र भरोसाको प्रतिफल हो।”

उहाँले निर्वाचित प्रतिनिधिहरूले विकास, सुशासन र पारदर्शिताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै निर्वाचन सफल बनाउन सहयोग गर्ने सबै मतदाता, कार्यकर्ता र सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।




