बालेन्द्र शाह प्रधानमन्त्री बन्नु देश जोड्ने दृष्टिले आधुनिक नेपालको इतिहासमा कालजयी महत्वको विषय हो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम क्रमश: सार्वजनिक हुँदै छ । यो सामग्री तयार पारुन्जेल मतगणनापश्चात् प्रत्यक्षतर्फको करिबकरिब सबैजसो परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमतसहित संसद्मा पहिलो दलका रूपमा स्थापित हुने निश्चित छ । समानुपातिकतर्फको मतगणना पनि जारी छ र अहिलेकै अवस्था कायम रहे समानुपातिक मतसमेतका आधारमा रास्वपाले दुईतिहाइको बहुमत प्राप्त गर्नेछ । यो मतपरिणामका आधारमा नेपाली जनताले देशको राजनीतिक नेतृत्व रास्वपाका माध्यमबाट युवाको काँधमा सुम्पिएको मान्न सकिन्छ ।
रास्वपाले संसद्मा एक्लैले दुईतिहाइको बहुमतप्राप्त गरेका खण्डमा एकातिर स्थिर राजनीतिक अवस्था विस्तार हुने सम्भावना बढ्छ भने अर्कातिर सरकारले आफूअनुकूल अवस्था निर्माण गरेर आफ्नो नीति तथा कार्यक्रम पूर्णत: लागू गर्न सक्छ । यो अवस्थाले देशलाई एक स्पष्ट खास दिशामा डोर्याउन मद्दत गर्र्ने अपेक्षा गर्न सकिन्छ । तर, यहाँ यसपटक यस विषयमा चर्चा नगरेर निर्वाचनको परिणामले नेपाली समाजमा पारेको प्रभावबारे चर्चा गर्ने प्रयत्न गरिएको छ ।
हाल सार्वजनिक हुँदै गरेको चुनावी परिणामले एउटा युग परिवर्तन गर्न खोजेको आभाष भएको छ । वास्तवमा देशका सामु एक महत्वपूर्ण कार्यभार बाँकी थियो, जुन कार्यको प्रारम्भ यसपटकको निर्वाचनमार्फत भएको छ । यस अवस्थामा नेपाली समाज र राजनीतिबारे केही महत्वपूर्ण निष्कर्ष निकाल्न सकिने अवस्था सिर्जना गरेको छ । मतपरिणामको प्रवृत्तिको विश्लेषण गर्ने हो भने केही सकारात्मक प्रभावको पहिचान गर्न सकिने अवस्था हाम्रासामु प्रस्तुत भएको छ भन्नु अन्यथा हुनेछैन । यसपटकको निर्वाचनका माध्यमबाट नेपाली मतदाताले वर्गीय, क्षेत्रीय, जातीय, भौगोलिक, धार्मिक तथा साम्प्रदायिक दूरी कम गर्दै समाजलाई नयाँ ढंगले पुनर्संरचना गर्ने संकेत दिएका छन् । निर्वाचन परिणामको यो सर्वाधिक महत्वपूर्ण पक्ष हो । यस परिणामले समग्रमा राष्ट्रनिर्माणको प्रक्रियालाई थप बल पुर्याउन सक्ने सम्भावनाको विस्तार गरेको छ । विगतका निर्वाचनमा एउटा खास, वाद, जात, समुदाय, धर्म हाबी हुने गरेको गुनासोको पृष्ठभूमिमा यसपटकको निर्वाचनले नयाँ प्रवृत्तिको बीजारोपण गरेको छ, जो निकै सकारात्मक छ ।
विगतका निर्वाचनमा केही क्षेत्र निश्चित दलको ‘दलीय गढ’का रूपमा चिनिन्थे । ती स्थानमा परम्परागत रूपमा एउटै दलको प्रभाव कायम रहने गरेको थियो, तर यसपटकको निर्वाचन परिणामले ती गढ भत्किएको स्पष्ट देखाएको छ । भक्तपुर १ र डडेल्धुरा निर्वाचन क्षेत्रलाई यसको उदारहणका रूपमा प्रस्तुत गर्न सकिन्छ । २०४८ सालपछिको संसदीय निर्वाचनमा भक्तपुर १ बाट सधैँ नेपाल मजदूर किसान पार्टी र डडेल्धुराबाट सधैँ नेपाली कांग्रेसले जित्दै आएकामा यसपटकको निर्वाचनमा फरक परिणाम आएको छ । यस्तै झापा ५ अहिलेसम्म नेकपा एमालेको गढका रूपमा चर्चित रहँदै आएकामा यसपटक रास्वपाका बालेन्द्र शाह नेपालको संसदीय इतिहासमै सर्वाधिक मत (६८ हजारभन्दा बढी मत प्राप्त गरी करिब ५० हजारको मतान्तर)सँगै विजयी भएका छन् । उनी करिब–करिब प्रधानमन्त्री बन्ने निश्चित छ । कुनै संशय नहोला, बालेन्द्र प्रधानमन्त्री बन्ने कुरा नेपालको इतिहासको एक अभूतपूर्व घटना हो । समाज पुनर्संरचना र आमस्वीकृतिका दृष्टिले आधुनिक नेपालको इतिहासमा यसको कालजयी महत्व छ । निश्चय, देश जोड्ने दृष्टिले यस परिणामको विशिष्ट महत्व छ ।
त्यसैगरी, यसपटकको मतपरिणामका आधारमा विगतमा केही निर्वाचन क्षेत्रमा जातीय आधारमा मतदान हुने प्रवृत्तिमा पनि परिवर्तन आएको आकलन गर्न सकिन्छ । धेरै ठाउँमा मतदाताले जातीय सीमालाई पार गर्दै फरक ढंगले मतदान गरेका छन् । यस परिणामले नेपाली समाजमा बिस्तारै सामाजिक एकता र साझा राष्ट्रिय सोच बलियो बन्दै गएको संकेत गरेको निष्कर्ष निकाल्न सकिन्छ । यस्तै, विगतको संसदीय निर्वाचनको तुलनामा यसपटक महिलाहरू बढी संख्यामा निर्वाचित हुन सकेको पाइएको छ, जो सन्तोषको विषय हो । महिलाका साथै समावेश हुनुपर्ने समूहका उम्मेदवारले पनि प्रत्यक्ष मतदानबाट विजयप्राप्त गर्न सक्नु यसपटकको निर्वाचनको महत्वपूर्ण उपलब्धि हो । निर्वाचन परिणामबाट हिमाल, पहाड र मधेशबिचको दूरी घट्दै गएको संकेतको अनुभूति भएको छ । विभिन्न भौगोलिक क्षेत्रका मतदाताले समान ढंगले परिवर्तनको पक्षमा मत दिएका छन् । यसले राष्ट्रिय एकता र साझा राजनीतिक भविष्य निर्माणतर्फ सकारात्मक संकेत गरेको छ । राष्ट्र निर्माणका दृष्टिले यो नयाँ प्रवृत्तिलाई निश्चय पनि सकारात्मक मान्नुपर्छ ।
यस आधारमा के भन्न सकिन्छ भने निर्वाचन परिणामले नेपाली मतदाताले अब परम्परागत राजनीतिक प्रभावबाट बाहिर निस्केर नयाँ विकल्पतर्फ सोच्न थालेको स्पष्ट संकेत गरेको छ । यस निर्वाचनको अर्को महत्वपूर्ण सन्देश पनि छ– नेपाली मतदाताले यथास्थितिमा परिवर्तन चाहेका छन् र त्यसको स्पष्ट अभिव्यक्ति मतदानमार्फत गरेका छन् । लामो समयदेखि एउटै शैलीको राजनीति, पुराना परम्परावादी दलको वर्चस्व र निरन्तर अस्थिर सरकारप्रति मतदातामा असन्तुष्टि थियो र त्यस अवस्थाबाट मुक्तिको चाहनालाई पनि यसपटकको मतदानमार्फत नेपाली मतदाताले स्वर प्रदान गरेका छन् भन्दा गलत ठहर्दैन । हालसम्मको मतपरिणामको विश्लेषण गर्दा एउटा अर्काे महत्वपूर्ण विषयतर्फ पनि सोच्न नेपाली राजनीतिलाई प्रेरित गरेको छ । त्यो के भने, विगतमा पहिचानवादी आन्दोलनका नाममा स्थापित केही दलहरू स्वयं अहिले पहिचानको संकटको अवस्थामा पुगेका छन् । ती दल जसले पहिचानका नाममा क्षेत्र वा समुदायको मुद्दालाई केन्द्रमा राखेर राजनीतिक शक्ति प्राप्त गरेका थिए, अहिले मतदाताको विश्वास जोगाउन संघर्ष गरिरहेका छन् । यसले नेपाली राजनीतिमा मुद्दाको स्वरूप र मतदाताको सोचमा आएको परिवर्तनलाई संकेत गर्छ ।
हालको राजनीतिक परिस्थितिलाई हेर्दा नेपालको राजनीतिमा दुई प्रमुख धार देखिएको मान्न सकिन्छ । पहिलो धार स्थापित र परम्परागत राजनीतिक शक्तिको हो, जसले लामो समयदेखि शासन व्यवस्था सञ्चालन गर्दै आएका छन् । दोस्रो धार नयाँ र फरक राजनीतिक शक्तिका रूपमा उदाएको छ, जसले परम्परागत राजनीतिक शैलीभन्दा फरक सोच र अभ्यास प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । यसपटक मतदान प्रतिशत करिब ५९ प्रतिशत मात्र रहेको छ, जुन अपेक्षाभन्दा कम हो । यसले के संकेत गर्छ भने सबै मतदाता नयाँ शक्तितर्फ पूर्णरूपमा आकर्षित भएनन् । राजनीतिक विश्लेषक सिके लालका अनुसार कम मत खसेको तथ्यांकले यही कुरा पुष्टि गर्छ । तर, उनले अर्को महत्वपूर्ण पक्ष पनि औँल्याएका छन्– खसेको मतभित्र भने पुराना दलप्रति गहिरो विकर्षण देखिएको छ । अर्थात् मतदाताले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यस तथ्यप्रति सचेत रही नेपालका राजनीतिक दलले भावी रणनीतिमा जुट्नु अपरिहार्य छ ।
२३ र २४ भदौमा भएको जनआन्दोलन (जेन–जी आन्दोलन)ले नेपाली समाजमा परिवर्तनको चाहना उजागर गरेको थियो । अहिलेको निर्वाचन परिणामलाई त्यो आन्दोलनको अभिमतलाई नेपाली जनताले लोकतान्त्रिक प्रक्रियामार्फत अनुमोदन गरेको रूपमा पनि बुझ्न सकिन्छ । त्यस अर्थमा यो निर्वाचनलाई ‘रिभोल्युसन बाई ब्यालेट’ अर्थात् मतपत्रमार्फत भएको क्रान्ति भनेर पनि व्याख्या गर्न सकिन्छ ।
यसपटकको निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी करिब दुईतिहाइ बहुमततर्फ अग्रसर देखिएको छ । यो अवस्था नेपाली राजनीतिमा परिवर्तनको ठुलो संकेत हो । विजयी भएका सबै उम्मेदवारलाई बधाई ! देशको नयाँ जनमत प्राप्त गरी सत्ता सञ्चालनको स्वीकृति पाएकाहरूलाई विशेष बधाई ! मतदाताले उनीहरूलाई पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्दै जनतालाई परिणाममुखी सेवा प्रदान गर्न जनमत दिएका छन् । जनताका अपेक्षा छन् र ती अपेक्षालाई सम्बोधन गर्नु भावी सरकारको दायित्व हो, जिम्मेवारहरूले यो कुरा बुझ्नैपर्छ । विगतका जिम्मेवारले कुरा नबुझ्दा नै नयाँ जिम्मेवारहरूको उदय भएको कुरामा विमति हुन सक्दैन । संसद्को अस्पष्ट अंकगणितका कारण पनि हुन सक्छ, लामो समयदेखि नेपालको राजनीतिमा दलबिच गठबन्धनमा आधारित सरकार बन्ने र भत्किने क्रम जारी थियो । यस्तो अस्थिर राजनीतिका कारण नीतिगत स्थिरता कायम गर्न कठिन भएको थियो । दीर्घकालीन महत्वका विकास आयोजना पनि प्रभावकारी रूपमा अघि बढ्न सकिरहेका थिएनन् । यस निर्वाचनबाट आएको जनमतले त्यो अवस्था अन्त्य गर्ने आशा गर्न सकिन्छ ।
विगतको अस्थिर राजनीतिको बाछिटाबाट जोगिँदै नयाँ सरकारले स्थिर रूपमा पाँच वर्ष काम गर्न सक्षम हुनैपर्छ । यसो हुनसके देशमा नीतिगत स्थिरता, विकास आयोजनाको निरन्तरता, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने सम्भावना बढ्नेछ । सम्बद्ध सबैलाई हेक्का रहोस्, यो निर्वाचन केवल सरकार परिवर्तनको सामान्य प्रक्रिया मात्र होइन, नेपालको राजनीतिक भविष्यलाई नयाँ दिशा दिने अवसर पनि हो ।
-लेखक झा रासस का अध्यक्ष हुन् ।




