महोत्तरी – मधेश–मिथिला क्षेत्रमा आइतबारदेखि विधिवत् चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने यो पर्व महोत्तरी, धनुषा, सर्लाही, सिरहा, पर्सा, बारा, रौतहट, सप्तरी, सुनसरी र मोरङलगायत मिथिलाञ्चलभरि धार्मिक आस्थाका साथ प्रारम्भ भएको हो ।
मधेश प्रदेशका जनकपुरधाम, औरही, गौशाला, सम्सी, बर्दिबास, जलेश्वर, मटिहानी, सुगा र पिपरालगायत स्थानका पोखरी, तलाउ तथा नदी किनारमा श्रद्धालु भक्तजनको भीड लाग्न थालेको छ । छठ पर्व सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति अभिवृद्धि गर्ने उद्देश्यले मनाइने विशेष पर्वका रूपमा लिइन्छ ।



जनकपुरधाम उपमहानगरपालिका–४ का पण्डित गणेश झाले सूर्य उपासनाको अनुपम परम्परा मानिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिने बताउनुभयो । उहाँका अनुसार पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक स्वास्थ्य तथा मनोकामना पूर्तिका लागि श्रद्धापूर्वक यो पर्व मनाउने गरिन्छ ।
चार दिनसम्म मनाइने यस पर्वअन्तर्गत पहिलो दिन ‘नहाय–खाय’ सम्पन्न गरिएको छ । दोस्रो दिन आज (सोमबार) ‘खरना’ पर्व मनाइँदैछ । यस दिन व्रतालुले दिनभरि निराहार उपवास बसेर साँझ छठ देवताको पूजा गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
तेस्रो दिन षष्ठीका अवसरमा मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ । यसका लागि गहुँ र चामलबाट तयार पारिएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायतका परिकार तथा फलफूल अर्घ सामग्रीका रूपमा चढाइन्छ । व्रतालुहरू भक्ति गीत गाउँदै जलाशयस्थित छठघाटसम्म पुग्ने गर्छन् ।
अन्तिम दिन बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैती छठ पर्व सम्पन्न हुनेछ ।
धार्मिक ग्रन्थअनुसार महाभारतकालमा द्रोपदीसहित पाण्डवहरूले अज्ञातवास सफलताको कामनासहित सूर्यदेवको आराधना गरेको उल्लेख पाइन्छ । त्यस्तै सूर्य पुराणमा अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख गरिएको छ ।
धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीकका रूपमा विकसित छठ पर्व हिन्दूसँगै केही मुस्लिम समुदायले पनि मनाउने गरेका छन् । पर्वमा चढाइने सामग्रीको संख्या धेरै हुने भए पनि सामर्थ्यअनुसार सामान्य सामग्री चढाए पनि देवता प्रसन्न हुने विश्वास रहेको छ ।




