धनुषा – धनुषामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाए अनुसार धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००४ प. १८९५ नम्बरको पल्सर मोटरसाइकललाई विपरीत दिशाबाट आईरहेको मधेश प्रदेश ०२–००१ च. १६४७ नम्बरको माछा बाेकेको महिन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।



इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका–६ कुचाईटोल बस्ने ५५ वर्षीय समीम खानको मृत्यु भएको छ । दुर्घटना लगतै उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइए थियोे तर चिकित्सकले उनकाे बाटो मै मृत भएको घोषणा गरेका थिए ।
दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ५० वर्षीय विनोद सिंह घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न पिकअप र त्यसका चालक सिरहाको सुखिपुर ३ बस्ने दिनेश सहनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।




