महोत्तरी – महोत्तरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार महतोले क्षेत्रका दीर्घकालीन समस्याको समाधान र विकास आयोजनाहरूलाई गति दिन सरकारसमक्ष विस्तृत प्रस्ताव पेश गर्नुभएको छ। उहाँले प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराउँदै स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सडक, पर्यटन, पशुपालन, भूमि व्यवस्थापन, बजार व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो।
स्वास्थ्य र शिक्षा
क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव प्रमुख समस्याका रूपमा रहेको उल्लेख गर्दै महतोले बर्दिबास मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गर्न माग गर्नुभएको छ। साथै ज्येष्ठ नागरिक, महिला, दलित, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ।शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको अभावका कारण गुणस्तरीय शिक्षामा असर परेको भन्दै विद्यालय भवन निर्माण तथा स्तरोन्नतिमा सरकारको ध्यानाकर्षण गराइएको छ।



कृषि, पशुपालन र भूमि व्यवस्थापन
क्षेत्रको प्रमुख आधार कृषि भए पनि उचित व्यवस्थापन नहुँदा किसानहरू समस्यामा परेको महतोले उल्लेख गर्नुभएको छ। गाई–गौशालासँग सम्बन्धित २०० बिघा जमिनको संरक्षण, कृषि शिक्षालय स्थापना तथा आधुनिक दुग्ध उद्योग सञ्चालनका लागि पहल गर्न प्रस्तावमा समेटिएको छ।
साथै नीलगाई र बाँदरका कारण किसानले भोग्नुपरेको क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न पनि सरकारसँग अनुरोध गरिएको छ।
खानेपानी, सरसफाइ र ऊर्जा
बर्दिबास, भंगाहा र गौशाला लगायतका क्षेत्रमा सुरक्षित खानेपानीको अभाव रहेको उल्लेख गर्दै तत्काल खानेपानी आयोजना सञ्चालन, पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा आधुनिक वितरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।फोहोर व्यवस्थापन सुधारका लागि आधुनिक वेस्ट ट्रीटमेन्ट प्लान्ट स्थापना, ५० वटा टावर लाइट र १०० वटा सोलार बत्ती जडान गर्ने प्रस्ताव पनि अघि सारिएको छ।
सडक र पुल
समग्र विकासका लागि सडक र पुल पूर्वाधार अपरिहार्य रहेको बताउँदै विभिन्न स्थानमा सडक कालोपत्रे, स्तरोन्नति र विस्तारका साथै ग्रामीण क्षेत्रमा नाला सहितको सडक निर्माण गर्नुपर्ने माग गरिएको छ।
धार्मिक तथा पर्यटन विकास
क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको उल्लेख गर्दै मन्दिर तथा पोखरी संरक्षण, सौन्दर्यकरण, पर्यटन प्रवर्द्धन, साथै गाई–गौशालामा अतिथि गृह र पार्क निर्माणका लागि पहल गर्न सरकारसँग आग्रह गरिएको छ।

















