बर्दिवास । बर्दिवास उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार दीपक बहादुर कार्कीले आफ्नो प्यानलसहित प्रतिबद्धता सार्वजनिक गरेका छन् । “व्यावसायिक विकास र समृद्धिको साझा संकल्प” भन्ने मूल नारासहित कार्कीले सम्पूर्ण प्यानल किन आवश्यक छ भन्ने स्पष्ट गर्दै ४ बुद्दे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
संघलाई प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन एकल नेतृत्व मात्र पर्याप्त नहुने भएकाले सक्षम र अनुभवी टोली प्यानलमा रहेको उनले दावी गरे । समग्र व्यवसायी समुदायको हकहित संरक्षण, बजार व्यवस्थापन र दीर्घकालीन आर्थिक समृद्धिका लागि साझा दृष्टिकोणसहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।



कार्की प्यानलले साना तथा ठूला व्यवसायीबीचको दूरी घटाउँदै पूँजीगत आधारमा व्यवसायी वर्गीकरण गर्ने र सबैलाई समान अवसर सुनिश्चित गर्ने योजना अघि सारेको छ । घरभाडा, घरधनी–व्यवसायी सम्बन्ध तथा स्थानीय करसँग सम्बन्धित समस्याहरू समाधान गर्न संघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाइएको छ। साथै, सडक किनारका साना व्यवसायीहरूको व्यवस्थापन गर्दै बजार सुरक्षामा जोड दिने योजना समेत सार्वजनिक गरिएको छ ।
त्यस्तै नगरपालिकासँग समन्वय गर्दै व्यवस्थित पार्किङ स्थल निर्माण, फुटपाथ व्यवस्थापन, ढल निकास सुधार तथा सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण गर्ने योजना कार्की प्यानलले अघि सारेको छ। यसले बर्दिवासलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्र बनाउने विश्वास व्यक्त गरिएको छ ।
बर्दिवासलाई ट्रान्जिट सहरको रूपमा नभई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित रात्रिकालीन बजार सञ्चालन गर्ने अवधारणा पनि अघि ल्याइएको छ । यो प्रतिवद्वतालाई दुवै प्यानलले साझा बनाएका छन् ।
कार्की प्यानलको होटल तथा ट्राभल व्यवसायीसँग सहकार्य गरी आन्तरिक तथा बाह्य पर्यटकलाई बर्दिवासमै बस्न प्रोत्साहन गरिने योजना रहेको छ।
व्यवसायीहरूलाई कानुनी समस्याबाट सहज रूपमा समाधान दिलाउन कानुनी परामर्श डेस्क स्थापना गर्ने, निजी अस्पतालसँग सहकार्य गरी स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने तथा सिटीईभिटी र सरकारी निकायसँग मिलेर महिला उद्यमीहरूका लागि सीपमूलक तालिम सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरिएको छ।
कार्कीले सुरक्षित लगानी, मर्यादित पेशा र समृद्ध बर्दिवास” आफ्नो मूल लक्ष्य रहेको उल्लेख गर्दै सम्पूर्ण व्यवसायीहरूलाई आफ्नो प्यानललाई समर्थन गर्न अपिल गरेका छन् ।
उक्त प्यानलले आगामी चैत्र २४ गते हुने निर्वाचनमा “डमरु” चुनाव चिन्हमा प्राप्त गरेको छ भने विपक्षी प्यानलले कलश चिन्ह प्राप्त गरेको छ ।
यस्ता छन प्रतिवद्वताहरु
१. सानो लगानी, ठूलो सम्मान: हाम्रो अभियान
व्यवसायी वर्गीकरण: पुँजीगत आधारमा व्यवसायीहरूको वर्गीकरण गरी सङ्घमा आवद्ध गराउने र सबैलाई समान अवसरको सुनिश्चितता गर्ने।
समस्या समाधानमा पहल: घरभाडा सम्झौता, घरधनी-व्यवसायी सम्बन्ध र स्थानीय करका क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न प्रभावकारी पहल गर्ने।
बजार सुरक्षा र व्यवस्थापन: सडक छेउका साना व्यवसायीहरूको उचित व्यवस्थापन गर्दै उनीहरूको व्यवसाय र बजार सुरक्षाको ग्यारेन्टी गर्ने।
२. व्यवस्थित बर्दिवास, सुन्दर बजार
पार्किङ व्यवस्थापन: नगरपालिकासँगको समन्वयमा बजार क्षेत्रभित्र व्यवस्थित पार्किङ स्थलको निर्माण गर्ने।
पूर्वाधार विकास: फुटपाथ र ढल निकासको उचित व्यवस्थापनका साथै बजार क्षेत्रमा सार्वजनिक शौचालय र प्रतीक्षालयहरूको निर्माण गर्ने।
३. ‘ट्रान्जिट’ होइन, पर्यटकीय गन्तव्य बर्दिवास
रात्रिकालीन बजार: बर्दिवासको आर्थिक गतिविधिलाई चलायमान बनाउन रात्रिकालीन बजारको अवधारणालाई कार्यान्वयन गर्ने।
‘Stay Bardibas’ प्याकेज: स्थानीय होटल तथा ट्राभल्स व्यवसायीहरूसँग मिलेर बाह्य तथा आन्तरिक पर्यटकहरूलाई बर्दिवासमा टिकाउन विशेष प्याकेजहरूको प्रवर्द्धन गर्ने।
४. उद्योगी-व्यवसायी सहजता: हाम्रो प्रतिवद्धता
कानुनी परामर्श डेस्क: व्यवसायीहरूलाई आइपर्ने कानुनी अड्चनहरू सुल्झाउन सङ्घभित्रै ‘व्यवसायी कानुनी परामर्श डेस्क’ स्थापना गर्ने।
स्वास्थ्य सेवामा सहुलियत: व्यवसायी र उनीहरूका परिवारका लागि निजी अस्पतालहरूसँग समन्वय गरी विशेष उपचार सहुलियत (डिस्काउन्ट) को व्यवस्था मिलाउने।





