धनुषाको मझेलिया गाउँकी २५ वर्षीया रूबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्ने निश्चितप्रायः भएको छ। श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी उनी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उपसभामुख पदमा अगाडि बढेकी हुन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले समानुपातिक सूचीमा समावेश गरेपछि प्रतिनिधिसभामा प्रवेश गरेकी ठाकुरले त्यसबेला उक्त अवसरलाई ‘सरप्राइज’ बताएकी थिइन्। अहिले पुनः उपसभामुख पदमा उम्मेदवारी दर्तापछि उनले यसलाई पनि अप्रत्याशित अवसरका रूपमा लिएकी छन्।



उपसभामुख चयनका लागि आवश्यक बहुमत संख्या सत्तारूढ दलको समर्थनबाट सुनिश्चित भएकाले उनको चयन लगभग निश्चित देखिएको छ। एउटै दलबाट सभामुख र उपसभामुख चयन गर्न नमिल्ने संवैधानिक व्यवस्थाअनुसार रास्वपाले श्रम संस्कृतिलाई समर्थन गरेको हो।
सामान्य परिवारबाट आएकी ठाकुरको जीवन संघर्षपूर्ण रहेको छ। उनकी आमा मजदुरीमा संलग्न रहँदै परिवार धानिरहेकी छन् भने उनका बुबा वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन्। आर्थिक अभावबीच उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा अध्ययन पूरा गरी निजी क्षेत्रमा कार्यरत हुँदै परिवारलाई सहयोग पुर्याएकी थिइन्।
राजनीतिप्रति प्रारम्भिक रुचि कम रहे पनि हर्क साम्पाङ का गतिविधिबाट प्रभावित भई उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएकी थिइन्। त्यसपश्चात् समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बन्ने अवसर प्राप्त गरेकी हुन्।
ठाकुरले मधेस क्षेत्रमा विद्यमान दाइजो प्रथा, बालविवाह तथा बेरोजगारीजस्ता विषयलाई प्राथमिकताका साथ संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उपसभामुख पदको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने उनले बताएकी छन्।




