महोत्तरी । गाउँ–गाउँमा सिंहदरबार स्थापना गर्दै सेवा नागरिकको दैलोमै पुर्याउने संवैधानिक व्यवस्था भए पनि जनप्रतिनिधि र कर्मचारीको लापरबाहीका कारण सर्वसाधारण प्रताडित भइरहेका छन् ।
महोत्तरीको बर्दिवास नगरपालिका–२ मा वडा कार्यालय नै बन्द गरेर कर्मचारीदेखि जनप्रतिनिधिसम्म भ्रमणमा गएपछि स्थानीय तहमा देखिएको यस्तै बेथिती बाहिर आएको हो ।



यसअघि पनि यस्तै प्रकृतिका गुनासोहरू आउने गरेका थिए । तर औपचारिक रूपमा कार्यालय नै बन्द गरिएको घटना भने जिल्लामै पहिलो पटक भएको स्थानीयहरू बताउँछन् । संघीय सरकारले सुशासनको अभियान चलाइरहेको अवस्थामा घुमघामको नाममा कार्यालय बन्द गरिएको घटनाले सेवाग्राहीहरू अचम्मित भएका छन् ।
‘हामी काम लिएर जाँदा गेट बन्द थियो। सार्वजनिक बिदा हो कि भनेर प्रमुख प्रशासकीय अधिकृतलाई सोध्यौं, तर त्यस्तो रहेन’, स्थानीय देवनारायण महतोले भने, ‘यो त सुशासनको भद्दा मजाक हो। जनप्रतिनिधि र कर्मचारीमाथि कारबाही हुनुपर्छ ।’
प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले बिना जानकारी वडा कार्यालय बन्द गर्नु गलत भएको स्वीकार गरेका छन् । ‘उहाँहरू भ्रमणमा जानुभएको जानकारी आएको छ, तर कार्यालय नै बन्द गरेर जान पाइँदैन’, उनले भने ।
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीका अनुसार यस विषयमा कार्यपालिका बैठकमा गम्भीर छलफल गरिनेछ । ‘सार्वजनिक बिदा बाहेक कार्यालय बन्द गर्न नपाइने व्यवस्था विपरीत किन यस्तो भयो भन्ने विषयमा छानबिन गर्ने छौँ,’ उनले भने।
वडा कार्यालयको गेटमा कारण नै नदेखाई सूचना टाँसिएको छ । गत चैत्र २७ गते गेटमा टासिएको सुचनामा नँया बर्षको शुभकामा दिदै मसान्तमा विदा हुने व्यहोरा उल्लेख गरिएको छ । तर सूचनामा वडा अध्यक्ष सिंहले हस्ताक्षर गरेका छैनन् । कार्यालयको छाप लगाएर वडा नम्बर २ परिवार लखेर सूचनालाई आधिकारिक बनाइएको छ ।
बिना कारण कार्यालय बन्द भएपछि स्थानीयहरुले ईलाका प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाई उजुरीसमेत दिएका छन् । इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख माधव न्यौपानेका अनुसार स्थानीय नारायण खनाल र देवनारायण महतोले दिएको उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै गृहमन्त्रालय पठाइएको छ ।
स्थानीयहरुले सामुहिक अर्को निवेदन नगरपालिकामा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीलाई पनि बुझाईएको नगर प्रबक्ता विजय महतोले जानकारी दिए । यो विषयमा वडाध्यक्ष श्यामराजा सिंहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाले विशेष परिस्थितिमा मात्र बिदा दिन सक्ने व्यवस्था छ । अन्यथा संघ र प्रदेश सरकारले निर्धारण गरेका सार्वजनिक बिदा मात्र लागू हुने प्रावधान रहेको छ ।






