बर्दिबास- “सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल सन्देशका साथ मधेस प्रदेशका जिल्लाहरूमा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ ।
नेपाली सेनाको मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गत बिहीबार आयोजित मुख्य सम्मेलनको प्रधान सेनापति अशोकराज सिग्देलले बर्दिबासमा उद्घाटन गर्नुभयो ।



बर्दिबासस्थित मुख्य सम्मेलन केन्द्र र अन्य दुई उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतहरूको प्रमुख आतिथ्यमा सञ्चालन भएको सम्मेलनमा यस क्षेत्रमा बसोबास गर्ने करिब दुई हजार ५०० अवकाशप्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उपस्थिति थियो ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सञ्चालन भएको उक्त कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक, ज्येष्ठ एकल महिला र आफ्ना चार सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने एक अभिभावकलाई सम्मान गरिएको छ ।
यस्तै, कार्यक्रममा सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीहरूलाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो भने फरक क्षमता भएका तथा अशक्त आठजना भूतपूर्व सैनिकहरूलाई ह्विल चियर तथा बैसाखी प्रदान गरिएको जङ्गी अड्डाले जनाएको छ ।
सेनाले यस प्रकारको कार्यक्रमबाट सेवारत र अवकाशप्राप्त सैनिकहरूबीचको सम्बन्ध प्रगाढ हुने तथा कल्याणकारी कोषमार्फत हिताधिकारीहरूलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को सम्मेलनअन्तर्गत मध्य पूर्वी पृतना मातहतका हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी वैशाख ५ गते यस्तै कार्यक्रम आयोजना हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।






