काठमाडौं । राष्ट्रिय सुसेली फाउन्डेशनको आठौँ वार्षिकोत्सव विभिन्न स्रष्टा तथा सञ्चारकर्मीलाई सम्मान गर्दै सम्पन्न भएको छ।
अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’को अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चार तथा साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा दामन पोस्ट साप्ताहिक तथा दामन पोस्ट डटकमका संस्थापक प्रधान सम्पादक, पत्रकार तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम बिडारीलाई ‘विनोद–सुधा सुसेली सम्मान’ प्रदान गरियो।




बिडारीले सुसेली विधाको प्रवर्द्धन, अध्ययन र प्रचारप्रसारमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको जनाइएको छ। सो अवसरमा राजन न्यौपाने, विष्णु गुरुङलगायत विभिन्न क्षेत्रका २२ जना स्रष्टा पनि सम्मानित भए।
कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने कोषाध्यक्ष कृष्ण केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। सुसेली सम्राट बेदप्रसाद गौडेलले सुसेली भजन प्रस्तुत गर्दा कार्यक्रम थप आकर्षक बनेको थियो।

कार्यक्रममा विशिष्ट अतिथि चन्द्रा न्यौपाने तथा अन्य वक्ताहरूले फाउन्डेशनले नेपाली साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे।
समारोहमा साहित्यकार, कवि तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले सुसेली गायन र सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक बनाएका थिए।
अन्त्यमा अध्यक्ष अधिकारीले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै फाउन्डेशनको आगामी यात्रा अझ सशक्त हुने विश्वास व्यक्त गरे।




