महोत्तरी- गौशाला नगरपालिका मा सम्पन्न दोस्रो मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि फुलकाहा (वार्ड नं. ०६) ले जितेको छ। शनिबार भएको फाइनल खेलमा फुलकाहाले वार्ड नं. ०२ लाई ४१ रनले पराजित गर्दै उपाधि हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको फुलकाहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। टोलीका लागि नगेंद्र अधिकारीले ३१ रन तथा सुकेश कुमार यादवले २७ रनको योगदान दिएका थिए। अन्य खेलाडीहरूले साना साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्थितिमा पुर्याएका थिए।




११६ रनको लक्ष्य पछ्याएको वार्ड नं. ०२ सुरुदेखि नै दबाबमा परेको थियो। फुलकाहाका बलरहरूले कसिलो बलिङ गर्दै नियमित अन्तरालमा विकेट झार्दा विपक्षी टोली ७५ रनमै अलआउट भयो।
विजेता फुलकाहाले नगद रु १ लाख १ हजारसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता वार्ड नं. ०२ ले रु ५१ हजार प्राप्त गरेको आयोजकले जनाएको छ। तेस्रो स्थान हासिल गर्ने टोलीलाई रु २५ हजार प्रदान गरिएको छ।

फाइनल खेलका प्रमुख अतिथि तथा दिपेन्द्र महतो ले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरे। कार्यक्रममा उनले स्थानीय तहमा खेलकुद विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवाहरूमा अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने बताए। उनले आगामी दिनमा खेलकुद पूर्वाधार विकास तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय स्तरमा आयोजना गरिएको प्रतियोगिताले युवाहरूबीच प्रतिस्पर्धासँगै एकता र मित्रताको भावना अभिवृद्धि गरेको आयोजकको भनाइ छ। प्रतियोगितामा दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले युवाहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराउँदै लुकेका प्रतिभा उजागर गर्न सहयोग पुर्याउँछन्।







