- शर्मिला घिमिरे
महोत्तरी — बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले विकास र समृद्धिका लागि सबैको सहकार्य अनिवार्य रहेको बताएका छन्। पाँचौँ आदिवासी जनजाति महोत्सव अन्तर्गत आयोजित कृषि प्रदर्शनी कार्यक्रममा बोल्दै उनले सामूहिक प्रयासबिना लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गरे।
मेयर क्षेत्रीले आफ्नो कार्यकालमा केही योजनाहरू अधुरा रहेको स्वीकार्दै ती कार्यहरू पूरा गर्ने दृढता व्यक्त गरे। “तीनै तहका सरकारका आफ्ना–आफ्नै कार्यक्रम भए पनि कतिपय योजना सम्पन्न नहुँदा जिम्मेवारी स्थानीय तहमा आइपुग्छ,” उनले भने। चुरे क्षेत्रका सडक तथा पुलजस्ता संरचनामा नगरपालिकाले बजेट खर्च गर्नुपर्दा उत्पादनमूलक क्षेत्रमा अपेक्षित लगानी गर्न नसकिएको उनले बताए। आगामी दिनमा उत्पादन वृद्धिलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो।




महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रत्येक वडामा दुई समूह गठन गरी, प्रत्येक समूहमा २४ जनाका दरले कुल ४८ महिलालाई उत्पादनमूलक गतिविधिमा संलग्न गराउने कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए। त्यस्तै, किसानलाई राहत दिन कृषि विद्युत् मिटरको सामूहिक व्यवस्थापन गरी शुल्क नगरपालिकाले नै तिर्ने योजना अघि बढाइएको उनले बताए।

किसानका मागअनुसार कोल्ड स्टोर स्थापना गर्ने विषयमा पनि उनले धारणा राखे। कोल्ड स्टोर सञ्चालनका लागि करिब १४ करोड रुपैयाँ आवश्यक पर्ने र नगरपालिकाको वार्षिक बजेट १६ करोड मात्र रहेको उल्लेख गर्दै उनले यसमा सम्पूर्ण बजेट खर्च गर्दा अन्य विकास कार्य प्रभावित हुने बताए। त्यसैले जनचाहना अनुसार अन्य पूर्वाधार विकासलाई प्राथमिकता दिनुपरेको उनको भनाइ थियो।

प्रदर्शनीमा बर्दिबास, भंगाहा र गौशाला नगरपालिकाका कृषकहरूले आफ्ना उत्पादन प्रदर्शन गरेका थिए। बर्दिबासका किसानहरूले उत्पादन बजारसम्म पुर्याउन सहजीकरण गर्न र वन्यजन्तु तथा आवारा जनावरबाट बाली जोगाउन पहल गर्न माग गरेका थिए। कार्यक्रममा १८ किलो तौलको लौका र २० किलोको फर्सी विशेष आकर्षण बनेका थिए।
कार्यक्रममा आदिवासी जनजाति महासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष हर्क तामाङ, होटल व्यवसायी संघका पूर्व अध्यक्ष सुदीप कार्की लगायत विभिन्न व्यक्तित्व, कृषि समूह र किसानहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी कृषकहरूलाई प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो।





