महोत्तरीको बर्दिबासमा सात वर्षअघि भएको एक रहस्यमय मृत्यु प्रकरणले अहिले नयाँ मोड लिएको छ। सुरुमा सामान्य सवारी दुर्घटनाको रूपमा लिइएको घटना पुनः अनुसन्धानपछि योजनाबद्ध हत्या भएको खुलेको हो।
महोत्तरीको बर्दिबास–३ स्थित स्मृति पार्क नजिक बीपी राजमार्ग अन्तर्गत २०७६ असार ३१ गते राति करिब १ बजे प्रदेश–२–०२–००१ प ३०५४ नम्बरको स्कुटर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। स्कुटर सडक किनारमा पल्टिएको अवस्थामा भेटिएको थियो भने चालक ३६ वर्षीय श्रवण कुमार (सरोज) थापा नजिकैको नालीमा मृत अवस्थामा भेटिएका थिए।



घटनालगत्तै प्रहरी टोली पुगेर शव जिल्ला अस्पताल पठाइएको थियो। पोस्टमार्टम रिपोर्टमा टाउकोमा गम्भीर चोटका कारण मृत्यु भएको देखिएको थियो। त्यसपछि मृतककी श्रीमती पूजा थापाले शव बुझेर अन्त्येष्टि गरेकी थिइन्।
प्रारम्भिक अनुसन्धानमा घटनालाई सामान्य दुर्घटनाको रूपमा हेरिएको थियो। तर, स्कुटरमा खासै क्षति नदेखिँदा पनि चालकको मृत्यु हुनु शंकास्पद देखिएपछि परिवारले पुनः अनुसन्धानको माग गरेका थिए। त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाको गहिरो अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा घटना दुर्घटना नभई योजनाबद्ध हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। प्रहरीका अनुसार मृतक र उनकी श्रीमतीबीच सम्बन्ध राम्रो नरहेको, घरायसी विवाद तथा कुटपिटका घटनाले परिस्थिति जटिल बनेको देखिएको छ।
प्रहरी अनुसन्धानअनुसार पूजा थापाले आफ्नी आमा लक्ष्मी बस्नेत तथा दिदीबहिनीहरूको सहयोगमा हत्या योजना बनाएकी थिइन्। घटनाको रात औषधि किन्ने बहानामा सरोजलाई घरबाट बाहिर लगाइएको थियो। स्मृति पार्क नजिक पुगेपछि पूजाकी बहिनी निशा बस्नेतले सुपारी दिएर राखेका व्यक्तिहरूले सरोजलाई नियन्त्रणमा लिएर टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेका थिए।
हत्या पश्चात् घटनालाई दुर्घटना जस्तो देखाउन स्कुटर सडकमा पल्टाइएको र शव नालीमा फालिएको प्रहरीले जनाएको छ।
घटनाको करिब दुई महिनापछि प्रहरीले चार जना संलग्न व्यक्तिलाई पक्राउ गरेको थियो। तर मुख्य योजनाकार भनिएकी पूजा थापा, उनकी आमा र अन्य दिदीबहिनीहरू भने फरार भई भारततर्फ भागेका थिए।
लामो समयको खोजीपछि प्रहरीले पूजा थापा, निशा बस्नेत र आरती बस्नेतलाई नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक बिकाश बमलाई गोदार थापा समाज महोत्तरीले शुक्रवार सम्मान गरेको छ। बर्दिबास क्षेत्रको शान्ति सुरक्षा कायम गर्न योगदान पुर्याएको भन्दै आयोजित कार्यक्रममा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री को प्रमुख आतिथ्यतामा समाजका अध्यक्ष रुद्र थापाले दोसल्ला ओढाएर सम्मानपत्रसहित बमलाई सम्मान गरेका हुन्।




