महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–५ स्थित त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा गैर–अभिभावक तथा राजनीतिक दलको प्रत्यक्ष हस्तक्षेप भएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको छ ।

स्थानीय सरोकारवालाहरूले विद्यालयको हितभन्दा बाहिर गई राजनीतिक प्रभाव र स्वार्थ समूहको सक्रियता बढेको आरोप लगाएका छन्। उनीहरूका अनुसार अभिभावकको वास्तविक सहभागिता कमजोर पार्दै बाह्य हस्तक्षेपमार्फत समिति गठन प्रक्रिया प्रभावित गरिएको छ ।




यसअघि बजार व्यवस्थापनका विषयमा पनि यस्तै हस्तक्षेपका कारण अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै स्थानीयवासीले पुनः विद्यालय क्षेत्रमा पनि अस्वस्थ चलखेल दोहोरिन नहुने बताएका छन् ।
गौशालाको समग्र विकासमा नकारात्मक असर पार्ने गतिविधि रोक्न सम्बन्धित निकाय, अभिभावक तथा जिम्मेवार पक्षले पारदर्शी र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने माग गरिएको छ ।

विद्यालय तथा सार्वजनिक संस्थाहरूमा हुने निर्णय प्रक्रियामा वास्तविक सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता स्थानीयस्तरमा जोडदार रूपमा उठ्न थालेको छ ।





